तनहुँ । गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका सात सयवटा पाडी÷बाछी हुर्काउन १० हजारका दरले अनुदान दिन लागेको हो । विगत तीन वर्षदेखि पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. राजेशकुमार चौधरीले पहिलो वर्ष एक सय, दोस्रो वर्ष दुई सय र तेस्रो वर्ष सात सयवटा पाडी÷बाछीका लागि बजेट विनियोजन गरेको जानकारी दिए । पाडी÷बाछीका लागि ७० लाख बजेट विनियोजन भएको छ । उनले भने, “तीन सय किसानले छ सय २८ पाडी÷बाछीका लागि आवेदन दिइसकेका छन् ।”
आवेदनका आधारमा किसानका गोठमा पुगेर स्थलगत अनुगमन गरी अनुदान दिइनेछ । एकजना पशुपालक किसानले बढीमा पाँच वटासम्म पाडी÷बाछीका लागि अनुदान पाउने केन्द्रले जनाएको छ । बाह्य जिल्लाबाट ल्याइएका पशुका तुलनामा जिल्लाभित्रै हुर्किएका पाडी÷बाछीमा कम रोग लाग्ने भएकाले पशु आयात न्यूनीकरण गर्न अनुदान दिएको केन्द्रका प्रमुख चौधरीले बताए । अनुदान पाउनका लागि पाडीरबाछीको उमेर एक वर्ष पुरा भएको हुनुपर्ने मापदण्ड राखिएको छ ।
