वीरगञ्ज । तराई मधेस क्षेत्रमा श्रद्धा भक्तिपूर्वक मनाइने चैती छठपर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छ । चार दिनसम्म मनाइने चैती छठपर्वअन्तर्गत तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने र भोलि अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको चैती छठपर्व सम्पन्न हुन्छ ।यो पर्वका लागि अहिले वीरगञ्जस्थित घडिअर्वा पोखरी, रानीघाटको सिर्सिया नदी, नगवा, छपकैयालगायत स्थानका पोखरी तथा तलाउलाई दुलहीझैँ श्रृङ्गारिएका छन् । चैती छठपर्वमा सूर्य भगवान् र छठीमातालाई चढाउन गहुँ वा चामलको पिठोबाट ठेकुवा, भुसुवालगायत परिकार बनाउने गरिन्छ ।
प्रसादका रुपमा मुला, गाँजर, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउलगायत फलफूल चढाउने परम्परा रहेको पण्डित रामकुमार शास्त्रीले बताए । शरद् र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक छठपर्व मनाउने प्रचलन रहेको उनले जानकारी दिए । शरद् ऋतुमाजस्तो वसन्त ऋतुमा मनाउने छठको उल्लास भने नहुने पण्डित शास्त्रीले बताए । छठपर्वमा प्रसादका रूपमा प्रयोग हुने सामग्री किन्न बजारमा चहलपहल बढेको छ । छठपर्वको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने र छालाजन्य रोग कहिले नलाग्ने जनविश्वास रहेको छ ।
