गण्डकी । गायन तथा अभिनयमा रमाइरहेका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा होमिएका छन् । निर्देशकका रुपमा सपुतले आइतबार आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गरे । काठमाडौँमा आयोजित एक समारोहबीच चलचित्रको शीर्षक भिडियो सार्वजनिक गरियो ।
सपुत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी २’ बाट अभिनेताका रुपमा उदाएका थिए । ‘वसन्त’मा पनि उनले आफैँ मुख्य पात्रका रुपमा देखिँदै छन् । ‘परदेशी २’को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको सपुतले बताए । चलचित्र निर्देशनलाई उनले आफ्नो अर्को सपना भएको रुपमा अथ्र्याए ।
गायनमा प्रवेश गर्दाताका नै सपुतले चलचित्रमा अभिनेता बन्ने सपना रहेको सुनाए । गायनसँगै म्यूजिक भिडियोको अभिनय र नृत्यमा पनि सपुतलाई दर्शकले रुचाएका थिए । “अभिनेताका रुपमा ‘परदेशी २’लाई मैले परीक्षाका रुपमा लिएको थिएँ, निर्देशकीय हिसाबले ‘वसन्त’ अर्को परीक्षा हो”, सपुतले भने, “पहिलेदेखि सँगालेको सपना पूरा गर्न पाउँदा उत्तिकै उत्साहित पनि छु ।”
चलचित्र ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको उनले सुनाए । “चलचित्रमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनेहुनेछ, यसमा नेपालीपन छ, लवज छ, मौलिक सङ्गीत छ”, सपुतले भने, “चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ ।” चलचित्रमा आफ्नै जन्मथलो बागलुङको धम्जा गाउँको परिवश र कथावस्तु चित्रित हुने उनको भनाइ थियो ।
सपुतले आफ्नो भोगाइ र अनुभवलाई चलचित्रको कथामा ढालेको बताए । विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको सङ्घर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको सपुतले सुनाए । “मैले गायकका रुपमा जुन परिचय बनाएको छु, त्यसको सफलताको भारी कहीँ न कहीँ मेरो चलचित्र निर्माण, निर्देशन र अभिनयमा पनि जोडिन्छ”, उनले भने, “यो मेरा लागि अवसर र चुनौती दुवै हो, बाँकी त दर्शकको हातमा छ ।” कथा, सङ्गीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको उनको भनाइ थियो ।
चलचित्रमा ‘वसन्त’ पात्रका रुपमा सपुत स्वयंको मुख्य भूमिका रहेको छ । अर्को मुख्य पात्र ‘शान्ति’का रुपमा अभिनेत्री स्वस्तिमा खड्का छिन् । चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ ।
