काठमाडौँ । यो साता कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक ३.९३ अङ्कले बढेर २११३.२७ को बिन्दुमा कायम भएको हो ।
विभिन्न तीन सय १७ कम्पनीको ९३ लाख ३० हजार दुई सय ९५ कित्ता सेयर ५८ हजार चार सय ८३ पटक खरिदबिक्री हुँदा तीन अर्ब ८९ करोड ३७ लाख ६४ हजार एक सय ६४ बराबरको कारोबार भएको छ । बैंकिङ समूह ०.७४, होटेल तथा पर्यटन समूह ०.४९ र निर्जीवन बिमा समूह ०.२२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । विकास बैंक समूह ०.६३, वित्त समूह १.४१, जलविद्युत् ०.२५, लगानी १.८० र जीवन बिमा समूह ०.४० प्रतिशतले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन ०.७८, लघुवित्त ०.४३, म्युचुअल फन्ड ०.४९, व्यापार ०.२२ र अन्य समूह ०.६४ प्रतिशतले बढेको छ ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएको सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २० करोड ४० लाख ४७ हजार चार सय ३४ बराबरको तीन लाख ५५ हजार आठ सय ९५ कित्ता सेयर किनबेच भएको छ ।
