लमजुङ । कृषि पेसाबाट केही गर्न सकिन्न भन्नेका लागि उदाहरणीय पात्र बनेका छन् सूर्य प्रसाईं । लमजुङको राइनासमा कृषि व्यवसाय गरिरहेका प्रसार्इंको गृह जिल्ला लमजुङ होइन । झापाबाट ढुङ्गा काट्ने मेसिन लिएर लमजुङ आएका प्रसाईंले गरेको कृषि कर्मबाट स्थानीय युवाले अवश्य पनि केही सिक्छन् ।
विदेशी भूमिमा गएर कृषि पेसामा रातदिन काम गर्नेहरुले एकपटक प्रसाईंको कृषि फार्म हेरेर केही सोच्नुपर्नेछ । लगनशील भएर मेहनत गरे के सम्भव छैन भन्ने उदाहरण उनले दिए । अथक उत्साह, साहस, मेहनत र निरन्तरताले त्यो सफलता पाउन सकिन्छ । “आफ्नै भिरपखेरा अनि खेर गएर बसेका पाखामा कृषिकर्म गरे विदेशी भूमिमा कमाउने पैसा कमाउन त सजिलै सकिन्छ, आत्मसन्तुष्टि पनि मिल्दोरहेछ”, प्रसाईं भने ।राइनास नगरपालिका–५, तीनपिप्लेमा कृषि कर्म गरिरहेका प्रसाईंले ढुङ्गा काट्ने काम पनि गरिरहेका छन् । यसका लागि उनले एक सय रोपनीभन्दा बढी जग्गा भाडामा लिएका छन् । जङ्गल र बुट्यानले ढाकिएको जग्गा एक लाख २० हजार वार्षिक भाडामा लिएर विभिन्न संरचनामा उनले ५० लाख रुपैयाँजति खर्च गरेका छन् ।
अहिले खर्बुजा बिक्रीबाट एक सिजनमा मात्र १२ लाख आम्दानी गरेका प्रसार्इंको झापामा पनि फार्म छ । झापामा रहेको १८ बिघा जग्गामा अहिले धान लगाएका छन् । धानपछि उनले खर्बुजा खेती गर्नुहुन्छ । खरबुजामा सुई लगाएर रङ मिसाएको भारतीय खर्बुजाको हल्लाका कारण उनले राम्रोसँग उत्पादन गरेको खर्बुजा बिक्रीमा समेत असर परेको उनको अनुभव छ । अहिले त्यसैका कारण झापाबाट राम्रो आम्दानी भएन, उनले भए । लमजुङमा उत्पादन गरेको खर्बुजा जिल्लाको सदरमुकाम बेंसीसहरलगायत गोर्खा र तनहुँका पसलसम्म पुग्दछ । “बजार खोज्न अहिले नै टाढा जानु नपर्ने उनको भनाइ छ । राम्रो उत्पादन गर्न सकियो भने बजार नै उत्पादन खोज्दै कृषकसम्म आउँछ, उनले भने ।
विगत १८ वर्षदेखि राईनासमा आएका प्रसाईंले पाँच वर्षदेखि यहाँ उषा बङ्गुर तथा कृषि फार्मको नाउँमा खरबुजा, काँक्रो, घिरौँला, फर्सी, अकबरे खुर्सानीलगायतको खेती गर्दै आएका छन् । हेर्दा नै लोभ लाग्ने उनको खर्बुजा कृषि फार्ममा अहिले बेमौसमका फलफूलका बिरुवा हुर्कंदै छन् भने अर्कोतर्फ अकबरे खुर्सानीको ठूलो प्लट चेपे नदीको तिरैमा छ । त्यहाँ उत्पादन भएका नौलो प्रजातिको प्रतीक नामको फर्सी सलादका लागि विभिन्न बजारमा पठाए ।
