सिमलताल पहिरो : भारतीय टोली परिचालन

चितवन । नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा भारतीय टोली पनि परिचालन भएको छ । भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली खोजतलासका लागि घटनास्थल आइपुगेको हो । खोजतलासमा परिचालिन हुनुअघि भारतीय टोलीले जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारीसहित यहाँका सुरक्षा निकायका अधिकारीहरुसँग छलफल गरेको थियो । छलफलपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले टोलीमा रहेका १२ जनामध्ये चार जना गोताखोर रहेको बताए। टोलीले विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका उद्धारमा खटिएकासँग छलफल गरेपछि काम सुरु गर्ने उनले बताए ।

खोजतलासका लागि आएका एनडीआरएफका प्रतिनिधि कुनाल तिवारीले अब यथासक्य छिटो खोजतलासको काममा जुट्ने बताए । उनले नेपालका जस्तै नदी भारतमा पनि रहेको जनाउँदै उस्तै प्रकृतिका नदीमा खोजतलास गर्न समस्या नहुने बताए । धमिलो र उच्च वहाबका नदीमा खोजतलास कार्य भारतमा गरेको भन्दै उनले यहाँ काम गर्न सकिने बताए ।

सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर चितवन आइपुगेको हो । पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका छन् । उनीहरुले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएको यादवले जानकारी दिनुभयो । ती उपकरणले पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्ने जानकारी दिए । टोली सात दिनसम्म रहने उनको भनाइ छ । नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो ।


Recommended For You