म्याग्दी । पछिल्लो एक वर्षको अवधीमा जिल्लाका पाँचवटा रणनीतिक महत्वका सडकमा कालोपत्र र ढलान भएको छ । सङ्घीय आयोजनाअन्तर्गत प्रदेश र स्थानीय सरकारले गत आर्थिक वर्षमा ३९.४४५ किलोमिटर सडक स्तरोन्नति गरेका हुन् । सङ्घीय सरकारको स्थानीय पूर्वाधार आयोजनाले १० किमी दुई सय २०० मिटर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले आठ किमी, पूर्वाधार विकास कार्यालयले १२ किमी र स्थानीय तहहरुले नौ किमी दुई सय ४५ मिटर पक्की सडक निर्माण गरेको जनाएका छन् ।
आव २०७९/८० मा १० किमी र आव २०७८र७९ मा १९.६ सय ७० किमी सडक कालोपत्र भएको थियो । २०५२ मा सडक सञ्जालमा जोडिएको म्याग्दीमा आव २०७७/७८ सम्म करिब २० किमी मात्र सडक कालोपत्र भएको थियो । गत आवमा जिल्लाभर ८७ किलोमिटर सडक कालोपत्र भएको छ । छवटा स्थानीय तहका ४५ मध्य धवलागिरी गाउँपालिका–१ गुर्जा बाहेकका वडामा सडक पुगेको गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बताए । सडक सञ्जालमा जोडिएको २४ वर्षसम्म नयाँ मार्ग खोल्ने काम भएको भन्दै जिल्लामा सङ्घीयताको कार्यान्वयनसँगै भित्रिएका सडक आयोजनाले पूर्णता पाउन थालेका उनले उल्लेख गरे ।
“म्याग्दी सडक पूर्वाधारका हिसाबले पछाडी परेको जिल्ला हो”, गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहेका सांसद जुग्जालीले भने, “प्रदेशको पहिलो कार्यकालमा भित्रिएका आयोजनालाई पूर्णता दिन जोड दिनुका साथै गत आवमा सात सडक आयोजना स्तरोन्नति गर्न नयाँ योजना भित्रिएका छन् ।” ग्रामीण सडकहरु धमाधम कालोपत्र, ढलान हुन थालेपछि धुलो र हिलोबाट मुक्ति मिलेको, यात्रा अवधी छोटिएको, सुरक्षित र सहज भएको सवारी चालक विश्वास खत्रीले बताउनुभयो । भाडादर समायोजन नहुनु, सडकअन्र्तगतका खोलाहरुमा पुल नहुनु र पहिरो तथा कटानका कारण स्तरोन्नति भएका सडकमा नियमित यातायात सञ्चालनको चुनौति देखिएको उनको भनाइ थियो ।
कृषि उपजको निकासी, खाद्यान्न, दैनिक उपभोग्य वस्तुु र निर्माण सामग्रीको भाडादर घटाउन, दुुर्घटना न्युनीकरण, प्रत्यक्ष रोजगारी सिर्जना, बसाइँसराई घटाउँदै सहरबाट गाउँ फर्काउन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि सडक आयोजनाहरु प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । हिलो र धुलोबाट मुक्ति पाएका सर्वसाधारण फराकिलो, सफा, पक्की सडकमा यात्रा गर्न पाउँदा खुसी भएका छन् । दूरदराजका बस्तिमा सडक विस्तार भएसँगै समग्र विकासमा टेवा पुगेको छ ।
क्रमागत, नयाँ वहुवर्षीय र सालबसालीसहित ८० भन्दा बढी योजना कार्यान्वयन गरिएको जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले बताए । जिल्लाभर ८.१८२ किलोमिटर सडक कालोपत्र र ४. २७३ किलोमिटर सडक ढलान भएको उनले जानकारी दिए । “दुईवटा मोटरेबल र एउटा झोलुङ्गे पुल, ३१ कल्भर्ट र १२ वटा कजवे निर्माण भएका छन् । करिब ११ किमी नयाँ सडकको मार्ग निर्माण भएको छ । १२.२०९ किलोमिटर सडक ग्राभेल भएको छ”, प्रमुख पौडेलले भने । २.३१६ किमी तथा करिब १७ हजार २८६ घनमिटर ग्याविन जाली तथा मेसिनरी पर्खाल निर्माण गरिएको उनले जानकारी दिए ।
अधुरा अवस्थामा रहेका पुराना वहुवर्षीय क्रमागत योजनालाई चलायमान बनाई गति दिनुका साथै सातवटा रणनीतिक महत्वका सडक स्तरोन्नति, थप दुई ठाउँमा मोटरेबल पुल निर्माण गर्न वहुवर्षीय योजना कार्यान्वयन गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलाबाट कालीओडार, तिप्ल्याङ, महभीर, भिरकाटे–रातोपानी–पोखरेबगर–भुरुङ्ग तातोपानी खण्डमा आठ किमी डिबिएसडी प्रविधीको कालोपत्र भएको छ ।
हिउँदमा कालोपत्र र ढलान भएको सडक वर्खा यामको सुरुवातसँगै पहिरो, पानीका मुहान र कटानका कारण क्षति भएको कालीगण्डकी कोरिडोरको ठेकेदार कम्पनी शर्मा–युनाइटेडका आयोजना व्यवस्थापक सुमन भट्टराईले बताए । सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पुर्वाधार विकास कार्यालय कास्कीमार्फत अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट गण्डकी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने १८ किमी दूरीको पोखरेबगर–चित्रे सडक स्तरोन्नति गर्न २०७५ मा सुरु भएको आयोजना यसै वर्ष ठेक्का टुङ्गिएको छ ।
आयोजनामार्फत आठ किमी डिबिएसडी कालोपत्र, २.२सय किमी ढलान र ३.६९० किमी सडक सोलिङ र ग्राभेल भएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए । “धेरै ठाउँमा सडक स्तरोन्नति भएपछि सहज भएपनि प्रवेश विन्दुमा पर्ने हल्लेगौडा क्षेत्रको पहिरोले दुःख दिएको छ”, उनले भने, “पोखरेबगर–घोडेपानी सडकको यात्रालाई सहज, सुरक्षित र नियमित बनाउने हल्लेगौँडाको दुई ठाउँमा पहिरोको दीर्घकालीन समाधानका लागि बजेट र योजनाको खोजीमा छौँ ।” बेनी नगरपालिकाले आव २०८/0८१ मा ५.४७ किमी सडक कालोपत्र÷ढलान, ३.६२ किमी ग्राबेल र १९.७८ किमी सडकमा सोलिङ, नाली, टेवा पर्खाल निर्माण गरी स्तरोन्नति गरिएको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिए ।
मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले तीनवटा आयोजनामार्फत सात सय छ मिटर प्रिमिक्स कालोपत्र, पाँच सय ६९ मिटर ढलान र तीन सय मिटर ग्राभेल सडक निर्माण गरिएको बताए । अन्नपूर्ण गाउँपालिकामा ३.८८७ किमी सडकको नयाँ मार्ग निर्माण गरिएको बताउँदै गाउँपालिकाका इञ्जिनियर ईश्वर भण्डारीले २७० मिटर ढलान, एक हजार ६४०.७ मिटर सोलिङ र पाँच सय ८८ मिटर नाली निर्माण भएको जानकारी दिए।
