जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले एक वर्षमा दुई सय ६४ वटा आयोजना सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ दुई सय ६८ योजना सम्झौता भएकोमा दुई सय ६४ आयोजना उपभोक्ता समिति र ठेक्का प्रक्रियाबाट निर्माण सम्पन्न भई संचालनमा आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोकवहादुर रावलले बताए । पालिकाको समग्र भौतिक प्रगति ८९ प्रतिशत भएको छ । उक्त आयोजनाका लागि १२ करोड ३६ लाख बजेट खर्च भएको छ । योजनाको पाँच प्रतिशत रकमबाहेक अरु सबै योजना सम्पन्न गर्न पालिका सफल भएको प्रमुख प्रशासकीय अधिकृत रावलको भनाइ छ ।
पालिकाले सोही आर्थिक वर्षमा दुई हजार मिटर सडक ग्राभेल निर्माण गरिएको छ । आठ हजार पाँच सय ८० मिटर ग्रामीण सडक निर्माण र १६ हजार दुई सय मिटर गोरेटो बाटो निर्माण गरेको गाउँपालिका योजना अधिकृत दानबहादुर शाहीले जानकारी दिए । गत आवमा पालिकाको विनियोजित ४४ करोड ८५ लाख बजेटमध्ये बजेटको जम्मा ८१.४४ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ १७ करोड ६५ लाखमध्ये १२ करोड ४२ लाख अर्थात् ७०.३४ प्रतिशत खर्च भएको छ । त्यस्तै चालुतर्फ २७ करोड २० लाखमध्ये २४ करोड ११ लाख अर्थात् ८८.६५ प्रतिशत खर्च भएको योजना अधिकृत शाहीको भनाइ छ ।
भौगोलिक विकटता र गाउँबस्तीको आवश्यकतालाई मध्यनजर गर्दै भौतिक विकास पूर्वाधारलाई विशेष प्राथमिकता राखेर काम गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए । विकास निर्माणलाई सही रुपमा कार्यान्वयन गर्नेका लागि पालिकाले हरेक योजनाको अनुगमनलाई तीव्रता दिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ ।
पूर्वाधारको पुँजीगत खर्च ७४ प्रतिशत
पूर्वाधार विकास कार्यालय जुम्लाले गत आव २०८०/८१ मा पुँजीगत खर्च ७४.८६ प्रतिशत गरेको छ । कार्यालयको वार्षिक विनियोजन जम्मा बजेट ५७ करोड ३२ लाख ४२ हजारमध्ये ४२ करोड ५३ लाख ४ हजार खर्च भएको छ । अर्थात् कुल बजेटको ७४.९३ प्रतिशत बजेट खर्च भएको पूर्वाधार विकास कार्यालयका प्रमुख पदमप्रसाद देवकोटाले जानकारी दिए ।
पुँजीगततर्फ वार्षिक विनियोजित बजेट ५६ करोड ७८ लाख ८८ हजारमध्ये ४१ करोड ७७ लाख ९१ हजार खर्च भएको छ । पुँजीगततर्फ बजेटको ७४.८६ प्रतिशत खर्च हो । कार्यालय प्रमुख देवकोटाले भने, “चालुतर्फ एक करोड २४ लाख ५४ हजार बजेटमध्ये ९७ लाख ४२ हजार अर्थात् ७८.२३ प्रतिशत बजेट खर्च भएको कार्यालय प्रमुख देवकोटाको भनाइ छ ।” पूर्वाधार विकास कार्यालयले जिल्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित भैसेडीमा हिमा नदी माथि पक्की पुल निर्माण गरेको छ । गत आवमा २.६३ किलोमिटर कालोपत्रे र पक्की सडक निर्माण गरिएको छ । यसैगरी १७.९४ किमी सडक ग्राभेल, सडक स्तरोन्नति, नाला निर्माण तीन किमी निर्माण गरिएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख देवकोटाले बताए ।
कर्णाली प्रदेश सरकारको समानिकरण बजेटबाट जनता आवास कार्यक्रमअन्तर्गत ११ वटा र विपन्न घर कार्यक्रमअन्तर्गत नौ वटा घर निर्माण भइ सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय जुम्लाले जनाएको छ । कार्यालयले तातोपानी, सिंजा र तिला गाउँपालिका गरी तीन वटा स्थानीय तहमा झोलुङ्गे पुल निर्माण गरेको छ । झोलुङ्गे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन् ।
