राजविराज । जिल्लास्थित राजविराजमा पर्ने भलुवाही खोलामा वर्षौँदेखि थुप्रिएको फोहर स्थानीय युवाले सफा गरेका छन् । ‘सरसफाइ तपाईंको हातमा, हामी युवा तपाईंको साथमा’ भन्ने नारासहित युवा खोला सरसफाइमा जुटेका हुन् । देशमा परिर्वतन गर्न युवाको आवश्यकता पर्दछ भन्ने सन्देश दिने उद्देश्यले प्रत्येक शनिबार स्थानीय खोला, नदी सरसफाइमा यहाँ युवा सक्रिया हुँदै आएका सप्तरी युथ क्लबले जनाएको छ ।
क्लबको आयोजना तथा राजविराज नगरपालिका र राजविराज युथ कम्युनिटीको सहकार्यमा प्रत्येक शनिबार भलुवाही खोलासहित अन्य नदी तथा खोला सरसफाइ अभियानमा युवा जुटेका क्लबका कार्यवाहक अध्यक्ष मोहन यादवले बताए । खोलामा छरिएर रहेका फोहोर, घाँस, नाला तथा खोलाभित्र वर्षौँदेखि मानिसले फालेका नकुहिने पानीका बोतल, सिसा, फलामलगायत फोहोेरजन्य वस्तु निकालेर सफा गरिँदै आइएको उनले उल्लेख गरे । युथ क्लब नेपालको आयोजनामा थालिएको सरसफाइ अभियानको ११ औँ हप्तामा पुगेको छ ।
कार्यवाहक अध्यक्ष यादवलेजिल्लाको समग्र विकाससँगै राजविराजको मुख्य बजार हँुदै बग्ने भलुवाही खोलालाई व्यवस्थित गर्न लागिएको जनाए । “उक्त खोलालाई आफ्नो स्वरुपमा फर्काउन युवाको सहयोगमा आज पनि सरसफाइ गरिएको छ”, उनले भने । जलवायु परिर्वतनलाई मध्यनजर गरी राजविराज–८ स्थित खानेपानी डिभिजन कार्यालयबाट कनौली रोडको पब्लिक माध्यमिक विद्यालयसम्म सरसफाइ गरिएको छ । क्लबको स्रोत परिचालन गरेर खोला सरसफाइ थालिएको बताउँदै ४० जनाको समूहमा जेसिबी भाडामा लिएर सरसफाइ गर्ने गरिएको उनले जानकारी दिए ।
कार्यवाहक अध्यक्ष यादवले भने, “समुदायलाई सफा, स्वास्थ बनाउन, पर्यावरणीय सन्तुलन कायम राख्न जनप्रतिनिधि, राष्ट्रसेवाक कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मीसहितको सहभागितामा सरसफाइ अभियानमा थालेका छौँ । यसलाई निरन्तरता दिन नगरपालिकाले आर्थिक सहयोग गर्नुपर्ने हाम्रो माग छ ।” एक वर्षभित्र भलुवाही खोला सरसफाइ सकेर वृक्षरोपण गर्ने योजना रहेको बताउँदै उनले यसमा सबैको सहयोगको अपेक्षा गरे ।
