सेयर बजारमा ऐतिहासिक कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हालसम्मकै उच्च रकमको कारोबार भएको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै २५ अर्ब ७७ करोड माथिको कारोबार भएकोमा सेयर बजारमा त्योभन्दा बढी रकमको कारोबार भएको हो । निरन्तर उच्च अङ्कको उकालो देखिएको नेप्से परिसूचकमा कारोबार २७ अर्ब नाघेको छ ।

नेप्से परिसूचक ७०.८१ अङ्कले बढेर २९३१.६५ को बिन्दुमा कायम भएको छ । यो २.४७ प्रतिशतको वृद्धि हो । तीन सय ३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार दुई सय १७ कित्ता सेयर दुई लाख ८३ हजार ४७ पटक खरिदबिक्री हुँदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार सात सय ६५ बराबरको कारोबार भएको छ ।

बजार पुँजीकरण ४६ खर्ब ५३ अर्ब ४३ करोड ४९ लाख ८३ हजार तीन सय पुगेको छ । लगानी समूह ०.१९ र उत्पादन तथा प्रशोधन समूह १.१९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन विमा समूह ५.८५ र वित्त समूह ४.८१ प्रतिशतले बढेको छ ।

कारोबारमा सातवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, स्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड, शुभम् पावर लिमिटेड र भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब २२ करोड ८० लाख ७२ हजार चार सय तीन बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने नविल ब्यालेन्स फन्ड–२ को २६ लाख ६९ हजार तीन सय ५० बराबरको कारोबार भएको छ ।


Recommended For You