सेयर कारोबार रकम हालसम्मकै उच्च

काठमाडौँ । धितोपत्र बजारमा अर्को कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । झण्डै ३० अर्ब बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३.०५अङ्कले उकालो लागेर ३०००.८१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.०१ अङ्कले उकालो लागेर पाँच सय ३५.५१ मा पुगेको छ । ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ मूल्यमा कारोबार भयो ।

नेप्सेका अनुसार, बुटवल पावर कम्पनी, राष्ट्रिय बिमा कम्पनी र मोदी इनर्जीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक ९.६४ र एनएमबी बैंकका लगानीकर्ताले ९.४२ प्रतिशतले कमाएका छन् ।

यस्तै, नेपाल फाइनान्स १०, विन्दबासिनी हाइड्रोपावर ७.२२, सुभम पावर ७.१०, मिड सोलु हाइड्रोपावर ६.२८ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ५.६८ प्रतिशतले गुमाएका छन् । नेप्सेका अनुसार, बैकिङ, विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत् लगानी, सामूहिक लगानी कोष निर्जीवन बिमा र व्यापार उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ ।


Recommended For You