अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रको योगदान महत्वपूर्ण छ : यातायातमन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको अवलोकनका लागि पुगेका मन्त्री दाहालले यस क्षेत्रको विकासका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

देशको यातायात, अर्थतन्त्र र रोजगारीमा अटोमोबाइल्स क्षेत्रले महत्वपूर्ण सहयोग पुर्‍याइरहेको बताउँदै उनले नागरिकलाई आधुनिक, सुलभ र सुरक्षित अटोमोबाइल्स सेवा पुर्‍याउन मन्त्रालय नाडासँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे । अटोमोबाइल्स तथा यससँग सम्बन्धित उद्योग तथा व्यावसायले नेपालमा स्वरोजगारी सिर्जना गरिरहेको भन्दै मन्त्री दाहालले प्रविधिमैत्री संरचना निर्माणलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताए । भदौ ११ देखि १६ गतेसम्म सञ्चालन हुने अटो शो अवलोकनका लागि मन्त्री दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मालगायत मन्त्रालयका अधिकारी सहभागी थिए ।

 


Recommended For You