काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३.६३ अङ्कले घटेर २६९५.९३ को विन्दुमा कायम भएको हो ।
तीन सय ३७ कम्पनीको दुई करोड ६२ लाख ४६ हजार चार सय ३५ कित्ता सेयर एक लाख ३० हजार छ सय ३२ पटक खरिदबिक्री हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार तीन सय ४९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
म्युचुअल फण्ड ०.८० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूह २.४४, होटेल तथा पर्यटन २.९८ र बैंकिङ २.३४ प्रतिशतले घटेको छ । त्यसैगरी, विकास बैंक १.८५, जलविद्युत् २.४०, लगानी १.३३, जीवन बिमा १.४४, उत्पादन तथा प्रशोधन १.८०, लघुवित्त १.८८, निर्जीवन बिमा १.२३, व्यापार ०.१९ र अन्य समूह १.०४ प्रतिशतले बढेको छ ।
सुपरमाई हाईड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड र माईखोला हाईड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सबैभन्दा बढी गुडविल फाइनान्स लिमिटेडको ५२ करोड ३१ लाख १० हजार चार सय ९२ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सानिमा लार्ज क्याप फण्डको आठ लाख चार हजार आठ सय कित्ता सेयर कारोबार भएको छ ।
