ललितपुरले वातावरण र कृषि क्षेत्रका सकारात्मक अभ्यास पछ्याउने

 ललितपुर । ललितपुर महानगरपालिकाले वातावरण र कृषि क्षेत्रमा कोरियाको चेरवन सहरका सकारात्मक अभ्यास पछ्याउने भएको छ । कोरियाको चेरवन सहरका प्रमुख ली ह्युन जोनसहितको प्रतिनिधिमण्डलको स्वागतमा ललितपुर महानगरपालिकाको बैठक कक्षमा आयोजित कार्यक्रममा नगरप्रमुख चिरीबाबु महर्जनले वातावरण र कृषि क्षेत्रमा भएका सकारात्मक अभ्यास आदानप्रदान गर्न चाहना व्यक्त गरे ।
नगरप्रमुख महर्जनले चेरवन सहर र ललितपुर महानगरबीचको भगिनी सम्बन्धले नेपाल र कोरियाबीचको दाँैत्य सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । एक महिनाअघि महानगर प्रमुख महर्जन चेरवन सहरको निमन्त्रणमा भगिनी सम्बन्ध कायम गर्नका लागि त्यहाँ गएका थिए ।
चेरवनका मेयरसहितको प्रतिनिधिमण्डललाई स्वागत गर्नुहुँदै ललितपुर महानगरप्रमुख महर्जनले कृषि र वातावरणको क्षेत्रमा चेरवनबाट ललितपुरले असल अभ्यासहरु सिक्नसक्ने बताए । “कृषि र वातावरणको क्षेत्रमा हामी चेरवनको असल अभ्यासहरु सिक्छौँ । हस्तकला र सम्पदा क्षेत्रमा हाम्रा असल अभ्यासहरु चेरवन सहरलाई हस्तान्तरण गर्न चाहन्छौँ, यो हामी दुवै पक्षका लागि प्रभावकारी हुनसक्छ”, उनले भने । चेरवन सहरका प्रमुख ली ह्युन जोनले ललितपुर महानगरसँग हरेक क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए । उनले कृषि, पर्यावरण प्राथमिकतामा रहेको भन्दै नेपालीहरुको सद्भावको शैलीबाट आफू प्रभावित भएको बताए ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले चेरवन सहरसँग भगिनी सम्बन्ध कायम भएकामा खुसी व्यक्त गर्दै दुई सहरबीचको भिन्नता र एकतालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताइन्् । उनले अघिल्लो वर्ष कोरिया भ्रमण गर्दा कृषि र पर्यावरणको क्षेत्रमा भएका सकारात्मक कामबाट आफू प्रभावित भएको बताइन् । “यी दुई क्षेत्रमा महानगरले धेरै सिक्नुछ, हालै कायम भएको भगिनी सम्बन्धले त्यसलाई मार्गप्रशस्त गरेको छ”, उनले भनिन् । चेरवन सहरका उपाध्यक्ष जाङ योङले ललितपुरको आवश्यकता र मागबारे जानकार हुन भ्रमण तय गरेको प्रस्ट पारे ।

Recommended For You