काठमाडौँ । ”गरिखाने शिक्षा महानगरको इच्छा” अन्तर्गत विद्यार्थीको शैक्षिक सुधारका लागि दशैं तिहारको बीचको विदालाई उपयोग गर्दै काठमाडौँ महानगरपालिकाले १६ वटा केन्द्रमा करिब २००० विद्यार्थीलाई सहभागी गराई ‘फेस्टिभल क्याम्प’ सुरु गरेको छ ।
विद्यार्थीको शैक्षिक नतिजा सुधारका लागि प्रयोगात्मक तथा रचनात्मक सिका, खेल र मनोरञ्जनका माध्यमबाट शैक्षिक क्रियाकलापलाई प्रोत्साहन गर्ने उद्देश्य राखी ‘फेस्टिभल क्याम्प’ सुरु गरिएको बताइएको छ । फेस्टिवल क्याम्पमा सिकाइका लागि एउटा कक्षामा २५ जनादेखि ३५ जनासम्म विद्यार्थीलाई सहभागी गराइने १० बजेदेखि ३ बजेसम्म गणित, विज्ञान, सामाजिक र स्टिम कक्षा सञ्चालन हुने, स्टिम शिक्षाशास्त्रको सिद्धान्तका आधारमा कक्षा सञ्चालन हुने, उत्प्रेरणात्मक, संगीतात्मक, मनोवैज्ञानिक, सांस्कृतिक लगायतका विषयमा फोकस भई सिकाइ प्रवर्द्धन गर्न नवीनतम अभ्यासका लागि वातावरण तयार हुने, ‘फेस्टिभल क्याम्प’को लक्ष्य रहेको जनाइएको छ ।
कार्यक्रम उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महानगरले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताएकी थिइन् । उनले एक्काइसौँ शताब्दीको प्रतिस्पर्धात्मक युगमा विश्वमै प्रतिस्पर्धा गर्न किताबी ज्ञान लिएर मात्र नपुग्ने त्यसका लागि विभिन्न सीप एवं स्किल्सको आवश्यकता पर्ने बताएकी थिइन्। विद्यार्थीको सीप विकास होस् र गरिखान सक्ने अवस्था निर्माण गर्न सकौं भनेर नै काठमाडौँ महानगरपालिकाले विभिन्न शैक्षिक क्रियाकलाप अगाडि बढाएको उपप्रमुख सुनिता डंगोलको भनाइ थियो ।
काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरले शिक्षाको क्षेत्रलाई समयानुकूल एवं प्रविधि मैत्री बनाउन महानगरपालिका लागि परेको बताए । उनले सामुदायिक विद्यालयहरुमा यसरी शैक्षिक क्रियाकलाप गर्नु भनेको विद्यार्थी र विद्यालयको मात्र नभएर देशकै प्रगति हुने विश्वास समेत आफूले लिएको बताएका थिए ।
काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका विज्ञ सदस्य शैलेन्द्र झाले ‘फेस्टिभल क्याम्प’का सम्बन्धमा आफ्नो विचार राख्दै विद्यार्थीको सिकाइलाई उपयुक्त वातावरण दिन ‘फेस्टिभल क्याम्पको आयोजना गरिएको बताए । उनले विगतमा काठमाडौँ महानगरपालिकाले गरेका क्रियाकलापले विद्यार्थीको एसइइको नतिजामा समेत राम्रो प्रभाव पारेको बताए । शैलेन्द्र झाले सुरुमा नयाँ कार्यक्रम गर्दा त्यसको प्रभाव कस्तो होला ? भन्ने संशय रहे पनि अब महानगरले गरेका क्रियाकलापले विद्यार्थीको रिजल्टमै सकारात्मक नतिजा आएको हुँदा यस्ता शैक्षिक कार्यक्रम गर्न आफूहरु उत्साहित रहेको पनि बताएका थिए ।
