काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ ।परिसूचक ९.९९ अङ्कले घटेर २७३८.०६ को बिन्दुमा कायम भएको हो । तीन सय १४ कम्पनीको एक करोड ६७ लाख ६७ हजार एक सय ६८ कित्ता सेयर ८२ हजार छ सय दुईपटक खरिदबिक्री हुँदा आठ अर्ब ८३ करोड २२ लाख २५ हजार आठ सय ९२ बराबरको कारोबार भएको छ ।
व्यापार समूह ९.०७, विकास बैंक समूह ४.५२ र होटेल तथा पर्यटन समूह ०.३० प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूह २.९६ प्रतिशतले घटेको छ । बैंकिङ १.४७, जलविद्युत् १.१४, लगानी १.१५, जीवन बिमा १.३५, उत्पादन तथा प्रशोधन ०.५७, लघुवित्त ०.९२, म्युचुअल फण्ड ०.२३, निर्जीवन बिमा ०.०१ र अन्य समूह १.३५ प्रतिशतले घटेको छ ।
पाँचवटा कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ३४ करोड ३१ लाख ४९ हजार सात सय १७ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको पाँच लाख आठ हजार तीन सय ४१ कित्ता सेयर किनबेच भएको छ ।
