
धनुषा । जनकपुरधाममा सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाह मण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा हुने वैवाहिक कार्यक्रमका लागि हजारौँ श्रद्धालु आइपुगेका छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवका अनुसार यस पटक विवाहपञ्चमी महामहोत्सवमा उल्लेख्य दर्शनार्थी जनकपुरधाम आएका छन् ।
त्रेता युगको झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्न नेपाल र भारतका साथै तेस्रो मुलुकबाट समेत दर्शनार्थी जनकपुरधाम आइपुगेका छन् । प्रत्येक पाँच वर्षमा अयोध्याबाट आउने जन्ती पनि यहाँ आएका छन् । अयोध्याबाट राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत राय, अयोध्याका नगरप्रमुख गिरिशपति त्रिपाठी, विश्व हिन्दू परिषद्का केन्द्रिय मन्त्री राजेन्द्रसिंह पङ्कजसहितको टोली पनि यहाँ आइपुगेको छ ।
जकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा प्रत्येक वर्ष वैवाहिक कार्यक्रमको आयोजना हुने गर्छ । वैवाहिक कार्यक्रमका लागि छोरीको बिहेका लागि जस्तै मण्डप सजाइन्छ । जनकपुरधामस्थित जानकी मन्दिरलाई मिथिला दरबारको रुपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारको रुपमा लिइन्छ । जानकी मन्दिर तथा राम मन्दिरलाई बेहुली झैँ सिँगारिएको छ ।
जानकी मन्दिरका महन्त रामतपेश्वरदास वैष्णवले भने, “यहाँ आउने दर्शनार्थीलाई छोरीको बिहेको आयोजना गरिरहेको जस्तै अनुभव हुन्छ ।” महन्त दास बिहेमा माता सीताको पिता राजा जनकको भूमिकामा छन् । राम मन्दिरका महन्तबाबा राम गिरी राजा दशरथको भूमिकामा छन् । महन्त गिरिले भने, “सीताजस्ती बुहारी पाउने भएपछि हर्षविभोर हुनु स्वभाविक नै हो ।” त्रेता युगमा अयोध्या नरेश दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान् श्री राम र मिथिलाका शिरध्वज राजर्षि जनककी पुत्री माता जानकीको विवाह भएको स्मरणमा साताव्यापी रुपमा मनाइने विवाहपञ्चमीको पहिलो दिन नगर दर्शनविधि गरिन्छ । यसमा राम लक्ष्मणको प्रतीकस्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाममा नगरदर्शन गराइन्छ ।
विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लीला हो । फूलबारी लीलामा राम जानकीको पहिलो भेट गराइन्छ । त्रेतायुगमा भगवान रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजा माई मन्दिरको प्राङ्गणमा रहेको फूलबारीमा भएको जानकार डा राजेन्द्र विमल बताए । यो विधि जानकी मन्दिरकै छेउमै रहेको विवाहमण्डपको फूलबारीमा गर्ने गरिन्छ ।
तेस्रो दिन धनुष यज्ञ सम्पन्न हुन्छ । माता सीताले शिवजीको पिनाक धनुषलाई बायाँ हातले उठाएर लिपपोत गरेको देखेर राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने वीर पुरुषसँगै आफ्नो छोरीको बिहे गरिदिने बचन लिएर धनुषयज्ञको आयोजन गरिएको संकृतीविद् एवं पण्डित मुकेश प्रतिहस्तले बताए । त्रेता युगमा सो धनुष यज्ञको आयोजन रङ्गभूमि मैदान १२ बिघामा भएको जनविश्वास छ । सोही स्मरणमा धनुष यज्ञविधि सम्पन्न गरिन्छ । महोत्सवको चौथो दिन राममन्दिरको प्राङ्गणमा हजारौँ श्रद्धालुबीच तिलकोत्सव विधि सम्पन्न हुन्छ ।
अयोध्याबाट जन्तीको नेतृत्व गरी आउनुभएका रामजन्मभूमि ट्रष्टका महासचिव रायले विवाहपञ्चमी महोत्सवले नेपाल र भारत बीचको प्राचीन सम्बन्धलाई नयाँ स्तरमा अझ बढी प्रगाढ बनाउने काम गर्ने बताउनुहुन्छ । अयोध्याका नगरप्रमुख त्रिपाठीले विवाहपञ्चमी महोत्सवले नेपाल र भारतको सांस्कृतिक, धार्मिक तथा भावनात्मक एकतालाई प्रगाढ बनाएर जीवन्त बनाउने काम गरेको बताए ।