नसर्ने रोगको महामारी दिनहुँ बढ्दैछ, सचेत होऔँ : डा. रिता थापा

काठमाडौँ । नसर्ने रोगको महामारी दिनहुँ बढ्दै गएको भास्कर-तेजश्री स्मृति प्रतिष्ठानकी संस्थापक अध्यक्ष डा. रिता थापाले बताउनुभयो । थापाले स्वास्थ्य अफिसरलाई सेवा प्रवेश तालिम दिने क्रममा सो कुरा बताउनुभएको हो । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुले नयाँ लोकसेवा पास गरेका अफिसर्सहरूलाई सेवा प्रवेश तालिम दिइरहेको छ ।

प्रशिक्षण दिँदै भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष : प्रा.डा. रिता थापा

नेपालमा हरेक १०० मृत्युमा ७१ जनाको मृत्यु नसर्ने रोगका कारण हुने गरेको अनुसन्धानले बताएको डाक्टर थापाको भनाइ थियो । हामीले नसर्ने रोगबाट ८० प्रतिशत मृत्युलाई जित्न सक्छौँ तर त्यसका लागि सबैले सङ्कल्प गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नसर्ने रोगहरूबाट बच्ने उपाय भनेको खानपान, जीवनशैलीमै सुधार रहेको र जीवनशैली सुधारका लागि समाजमा ठूलो जागरण ल्याउनुपर्ने बताउनुभयो ।

थापाले भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानले देशव्यापी रुपमा नसर्ने रोगबाट आफू बच्न र अरुलाई बचाउन सचेतनामूलक कार्यक्रम गरिरहेको पनि बताउनुभयो । उहाँले यस जागरण कार्यक्रममा हातेमालो गर्दै अगाडि बढ्न प्रशिक्षार्थीहरूलाई आह्वान पनि गर्नुभयो ।

थापाले नव युवाहरुलाई कुलतमा लाग्नबाट बचाउन भास्कर – तेजश्री स्मृति प्रतिष्ठानले विद्यालय-विद्यालयमा नै जागरण ल्याउने कार्यहरु गरिरहेको पनि बताउनुभयो । शिक्षक-विद्यार्थीहरूबाट नै सकारात्मक सन्देश दिन सकिने हुँदा विद्यालय लक्षित कार्यक्रम गर्न लागिएको थापाको भनाइ थियो । उहाँले यसका लागि शिक्षा मन्त्रालयसँग पनि सहकार्य गर्न लागिएको बताउनुभयो ।

पहिला सरुवा रोगका कारण मानिसहरूको मृत्यु हुन्थ्यो भने अहिले नसर्ने रोगका कारण मृत्युदर बढिरहेको अनुसन्धानले बताएको छ । तसर्थ नसर्ने रोगका मुख्य प्रारम्भिक जोखिमहरूबाट नै जोगिनुपर्छ । नसर्ने रोग लाग्नुका कारणमा सुर्तिजन्य पदार्थ सेवन, मदिरापान, पत्रु खाना, पेय पदार्थ सेवन, शारीरिक निष्क्रियता र मानसिक तनाव भएको हुँदा यसबाट समाजलाई नै जोगाउनुपर्ने, जोगिनुपर्ने डा. थपाको भनाइ थियो ।

डा. थापाले प्रशिक्षार्थीहरुलाई चुरोटबाट कसरी मानिसहरुमा रोग लाग्न सक्छ ?निकोटिन कति हानिकारक हुन्छ भन्ने कुरा प्रयोगात्मक रुपमै प्रस्तुत गर्नुभएको थियो । प्रशिक्षार्थीहरुले धुम्रपान स्वास्थ्यका लागि हानीकारक छ भन्ने सैद्धान्तिक कुरा त सबैलाई थाहा भएको तर प्रयोगात्मक रूपबाट देखाउँदा बढी प्रभावकारी हुने बताएका थिए । उनीहरूले डा. थापाको प्रशिक्षण सत्र व्यवहारिक एवं दैनिक जीवनमा सचेत गराउन उपयोगी भएको पनि बताए । सेवाकालीन तालिम पौष २६ गतेदेखि माघ २६ गतेसम्म दिइने बताइएको छ । हेल्थ अफिसर, मेडिकल अफिसर, डेन्टल अफिसर, ल्याब अफिसर्स, नर्सिं अफिसर र आयुर्वेद अफिसर गरी ३८ जनाले तालिम लिइरहेका छन् ।

             सेवाकालीन तालिम लिइरहेका मेडिकल अफिसर्सहरू

 

 

 


Recommended For You