काठमाडौँ । भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानले विगत दश वर्षदेखि नेपालको एक नम्बरको प्राणघातक नसर्ने रोग र हाम्रो समाजमा व्याप्त लैङ्गिक विभेद र यौन दुर्व्यवहारबाट बच्न, बचाउन स्कुलका नवयुवाहरूलाई नै सशक्त गर्ने दुई प्रयोगात्मक अनुसन्धान सफलतापूर्वक सम्पन्न गरेको छ। यसैगरी दुवै मौलिक अनुसन्धानको ज्ञान सन्दर्भ सामग्रीका रुपमा प्रकाशित पनि भएका छन्।
नेपालमा हरेक १०० मृत्युमध्ये ७१ जनाको मृत्यु हार्ट अट्याक, क्यान्सर, दीर्घ खोकी, स्याँ– स्याँ, चिनीरोग जस्ता नसर्ने रोगका कारण हुने गरेको छ ।
राम्रो कुरा के हो भने, विश्व स्वास्थ्य संगठनको अनुसन्धानअनुसार नसर्ने रोगबाट हुने ८० प्रतिशत मृत्युलाई रोक्न सकिन्छ । यसै सन्दर्भमा, भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा. डा. रीता थापा भन्नुहुन्छ, ”नसर्ने रोगहरूबाट बच्ने उपाय भनेको यसका मृत्यु संबद्ध जोखिम बानीको रोकथाम हो, संक्षिप्तमा जीवनशैलीमै सुधार ल्याउनु हो” । मुख्यत: पाँच आयाममा जीवनशैली सुधार गर्नुपर्ने हुन्छ । यी हुन् :- सुर्तीजन्य पदार्थ सेवनमा रोक, मदिरापानमा रोक, पत्रु खाना-पेय पदार्थ सेवनमा रोक, शारीरिक निष्क्रियता र मानसिक तनावबाट मुक्त हुनुपर्ने उहाँको भनाइ छ ।
यसैगरी अनुसन्धानले देखाएअनुसार नेपालमा स्कुल जाने बालबालिकामध्ये ६६% ले कुनै न कुनै रूपमा शारीरिक हिंसा भोगेका छन् भने अर्को अध्ययनअनुसार दश वर्ष मुनिका ३१% बालबालिका यौन दुर्व्यवहारबाट पीड़ित छन् भने ८९% अपराधी/पिडक चिनेजानेकै व्यक्ति हुन्छन् । यो एक भयानक लुके छिपेको अपराध मात्र नभई एक गम्भीर उपेक्षित जनस्वास्थ्य समस्या पनि हो ।
प्रतिष्ठानले देशकै सबैभन्दा ठूलो हिस्सा ओगटेको स्कुलका नवयुवा विद्यार्थीमा उक्त दुवै समस्यामा प्रयोगात्मक अनुसन्धान केन्द्रित गरेको थियो। यी अनुसन्धानका नतिजाले स्कुलका नवयुवाहरूमाझ नसर्ने रोगका मृत्यु संबद्ध जोखिम बानीलाई तथ्याङ्कीय किसिमले न्युनीकरण गरेको छ भने, उनीहरूलाई लैङ्गिक विभेद र यौन दुर्व्यवहारबाट बच्न सशक्त बनाएको तथ्याङ्कीय किसिमले देखाएको छ।
यी अनुसन्धानका उत्साहजनक नतिजाको मूख्य पाटो भनेको अनुसन्धान प्रमाणित भाष्कर स्कूल हृदय स्वास्थ्य सशक्तीकरण पहल- Bhaskar Initiative for School Heart Health Empowerment Studies- BISHES (विशेष) र तेजश्री स्कुल नवयुवा यौन दुर्व्यवहार प्रतिरोध सशक्तिकरण पहल (Tejshree Initiative for Empowerment of School Adolescents for Prevention of Sexual Harassment-TIPSH (टिप्स) स्वःअनुभवीय शैक्षिक पाठयोजना मोड्युलहरु हुन्। यी शैक्षिक पाठयोजना मोड्युलहरूमा समावेश गरिएका विषयवस्तु र यसलाई स्कुलका नवयुवाहरूमाझ प्रस्तुत गर्ने विधि नै यस प्रभावकारी नतिजाका मुख्य कारण हुन् ।
प्रतिष्ठानले स्कुलका नवयुवा विद्यार्थीहरुमाझ यी अनुसन्धान प्रमाणित ‘विशेष’ र ‘टिप्स’ तालिम सञ्चालन गर्दै आएको छ ।
प्रतिष्ठानले नेपाली सेनासँग सहकार्य गर्दै मिति २०७९ मंसिर २० गते देखि सुरु भई विगत तीन वर्षदेखि श्री राष्ट्रिय सेवा दलका चारवटै शिक्षालयहरुमा (श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय, हात्तीखोर, नवलपरासी; श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय, कौशिलानगर, बाँके; श्री राष्ट्रिय सेवा दल मध्यपूर्वी तालिम शिक्षालय, बर्दिबास, महोत्तरी र श्री राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय, याङ्गशिला, मोरङ) प्रत्येक वर्ष ७५०० भन्दा बढी (कुल २२,७४८) नवयुवा विद्यार्थीहरुलाई नसर्ने रोग र लैंगिक असमानता-यौन दुर्व्यवहारको जोखिमबाट बचाउन सशक्त प्रभावकारी तालिम दिँदै आएको छ ।
उक्त एन.सि.सि.(NCC) क्याडेट तालिमका प्रमुख सेनानीज्युहरुले नवयुवा विद्यार्थीहरुलाई नसर्ने रोगका जोखिमहरू र लैङ्गिक असमानता तथा यौन दुर्व्यवहारबाट आफूलाई बचाउनका लागि भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानले प्रदान गरेको तालिम निकै प्रभावकारी रहेको बताउनुभयो । उहाँहरूले आगामी दिनमा पनि यस तालिमको निरन्तरताका लागि भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानसँग सहकार्य गरिने बताउनुभयो ।
प्रतिष्ठानले नेपाली सेनासँग सहकार्य गरी वि. स २०७९ सालमा नयाँ भर्ती भएका १,३४५ सैन्य जवानहरुलाई पनि नसर्ने रोग र यौन दुर्व्यवहारबाट बच्न तालिम प्रदान गरी सशक्तिकरण गरेको थियो। यस किसिमका तालिम विभिन्न विद्यालयमा अद्यावधि दिँदै आएको छ ।
यसका साथै, प्रतिष्ठानले विद्यालयमा शिक्षकहरूलाई समेत तालिम दिँदै आएको छ । शिक्षकहरू प्रशिक्षित हुँदा निरन्तर रूपमा अन्य विषयका कक्षामा समेत समयसमयमा जानकारी प्रदान गरी विद्यार्थीहरूलाई सचेत गराउन शिक्षकहरूको प्रभावकारी भूमिका हुन्छ । समाजका अगुवा नै शिक्षक हुन् र शिक्षकले नै सभ्य समाज निर्माण गर्न सशक्त भूमिका खेल्छन् भन्ने भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानको विश्वास रहेको छ ।
देशकै सबैभन्दा ठूलो हिस्सा ओगटेको स्कुलका नवयुवाहरूलाई आज मृत्यु संबद्ध जोखिम बानी र लैङ्गिक विभेद एवं यौन दुर्व्यवहारबाट बच्न सशक्त गर्दा अवश्य नै भोलिको नेपाली समाज बढी स्वस्थ, सुरक्षित र समतामुलक हुनेछ ।
भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानले नेपाली सेनासँगको सहकार्यमा नवयुवा विद्यार्थीहरूलाई नसर्ने रोग र लैङ्गिक असमानता-यौन दुर्व्यवहारको जोखिमबाट बचाउन समय-समयमा दिइएका तालिमका झलकहरू :-



क्याडेट विद्यार्थी प्रयोगपछि आआफ्नो अनुभव साझा गर्दै (वि. सं. २०८०)


