काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आठ वर्षीय बालिका आकृति पाण्डेद्वारा लिखित बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज को लोकार्पण गर्नुभएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा आयोजित समारोहमा पुस्तक लोकार्पण गरिएको हो । संस्कार पब्लिकेसनद्वारा प्रकाशित बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज संग्रहमा ११ वटा बालकथाहरू समेटिएका छन्।
कार्यक्रममा मन्त्री पाण्डेले यति सानो उमेरमै कथा लेखनमा देखाएको प्रतिभा प्रशंसनीय रहेको बताउँदै लेखिकाको सृजनात्मक क्षमताको प्रशंसा गर्नुभयो । उहाँले साहित्यमा संलग्न व्यक्ति अन्य पेशागत व्यक्तिहरूको तुलनामा कम अपवित्र रहने धारणा राख्दै साहित्य सिर्जना गर्नेहरू भावुक हुने र तिनको भावुकताले समाजलाई असल कार्यतर्फ डोर्र्याउने विचार व्यक्त गर्नुभयो । साथै, आजको डिजिटल युगमा मानिसको चिन्तन गर्ने क्षमतामा कमी आए पनि कल्पनाशक्ति सशक्त शक्ति भएको भन्दै कल्पनाशीलताको महत्त्वलाई जोड दिनुभयो ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा.धनेश्वर नेपालले आकृति पाण्डे एक विशिष्ट प्रतिभा भएकी बताउँदै बालकहरूलाई सही मार्गदर्शन प्रदान गर्न अभिभावक, विद्यालय र समाजको महत्त्वपूर्ण भूमिका हुने विचार राख्नुभयो । जय नेपाल फाउन्डेशनका अध्यक्ष बद्री अर्यालले आकृति पाण्डेमा अलौकिक प्रतिभा रहेको र भविष्यमा विशिष्ट साहित्यकार बन्न सक्ने सम्भावना रहेको बताउनुभयो ।
पुस्तकको समीक्षा गर्दै लेखक शङ्कर कुमार प्रधानले लेखिकाले कथा लेखनको मापदण्डलाई पछ्याउँदै पात्रहरूलाई न्यायपूर्ण रूपमा प्रस्तुत गरेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार संग्रहमा करुणा, मित्रता, धैर्यता, एकता तथा अरूलाई चित्त नदुखाउने जस्ता सन्देश प्रवाहित गर्ने कथाहरू समेटिएका छन्। प्रधानले कथाहरू रोचक, सन्देशमूलक र मानव जीवनलाई छुने खालका रहेको बताउँदै यी कथाहरू मिहिनेतका साथ तयार पारिएको उल्लेख गर्नुभयो ।
लेखिकाकी पिता अमिन पाण्डेले छोरीको सृजनात्मक क्षमताले आफू गौरवान्वत भएको बताउँदै सानै उमेरदेखि पढ्ने, लेख्ने र चिन्तन गर्ने उनको स्वभावले भविष्यमा अझ उत्कृष्ट कृतिहरू जन्माउने आशा व्यक्त गर्नुभयो । संस्कार पब्लिकेसनका उपाध्यक्ष शरद श्रेष्ठले समाजलाई गतिशील बनाउँदै समृद्धिको दिशामा लैजान पढ्न मात्र नभई लेख्न पनि आवश्यक रहेको धारणा राख्नुभयो ।

