काभ्रेपलाञ्चोक । दोस्रो तेजश्री राष्ट्रिय मुटकोर्टको उपाधी नेसनल ल कलेजले जितेको छ । मुटकोर्ट प्रतियोगिता काठमाडौँ विश्व विद्यालय स्कूल अफ ल (कुसोल) र भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानको साझेदारीमा कुसोल डिवेटीङ्ग एण्ड मुटीङ्ग सोसाईटीद्वारा आयोजना हुने गरेको छ ।
मानव अधिकारकर्मी अधिवक्ता तेजश्री थापाको स्मृतिमा अन्तर्राष्ट्रिय मानवीय कानुनको सिद्दान्त/नियमहरु लागु गर्न र व्यवहारिक अनुभव प्रदान गर्ने उद्देश्यले मुटकोर्ट प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताको अर्को उद्देश्य सचेतना अभिबृद्धि गर्नु पनि रहेको छ ।
प्रतियोगितामा विभिन्न प्रदेशका कानुन विषय अध्यापन गराउने १० वटा ल कलेजहरुले भाग लिएका थिए । दुई दिनसम्म सञ्चालन भएको मुटकोर्ट प्रतियोगिताको विजेता नेसनल ल कलेजले ट्रफीसहित नगद रू. ५०,०००/- रूपैयाँ पुरस्कार प्राप्त गर्यो । त्यस्तै उपविजेता काठमाडौँ विश्व विद्यालय स्कूल अफ लले रू २५०००/- पुरस्कार प्राप्त गरेको छ । यस बाहेक उत्कृष्ट वक्तालाई रू १००००/- र उत्कृष्ट मेमोरीयल विधातर्फ रू १५०००/- पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताले विद्यार्थीहरूमा तर्कशक्ति बढेको सहभागीको भनाइ थियो ।
पूर्व न्यायाधीश डा. आनन्द मोहन भट्टराई, डा. मन्दिरा शर्मा र भीष्म प्रसाद संग्रौलालगायतका कानुनविद्हरूले निर्णायक मण्डलको भूमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगितामा काठमाडौँ विश्व विद्यालयका कार्यकारी उपकुलपति प्रा. डा. अच्युत वाग्ले, भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा अवैतनिक कार्यकारी निर्देशक प्रा. डा. रीता थापा, काठमाडौँ विश्व विद्यालय स्कूल अफ लका डीन प्रा. डा. ऋषिकेश वाग्ले, पूर्व मन्त्री भेषबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।
