काठमाडौँ । जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले अधिकारका लागि आवाज उठाउँदै पनि गर्नुपर्ने र प्राप्त अधिकारको उपयोग गरी परिणाममुखी काम पनि गर्नुपर्ने बताउनुभयो । बुढाथोकीले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौँले आयोजना गरेको प्रधानाध्यापकहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।
बुढाथोकीले हामी कुरा धेरै गर्छौँ, काम गर्दैनौँ त्यसैले अब काम गर्नुपर्ने बताउनुभयो । उहाँले अधिकार त जिल्ला समन्वय समितिलाई पनि छैन । तर, अधिकार जति छ त्यसलाई सदुपयोग गर्न जिल्ला समन्वय समिति काठमाडौँ लागिपरेको उहाँको भनाइ थियो । बुढाथोकीले विद्यालयभित्र कुनै पनि अतिरिक्त क्रयाकलाप गरेमा जिल्ला समन्वय समितिले समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौँका प्रमुख विचारीप्रसाद अधिकारीले शिक्षकहरू संघ सरकारका हुन् त्यसैले संघ सरकारको संरचनामा हुनुपर्ने शिक्षकरूले अहिले स्थानीय सरकारमा काम गर्दा कठिनाइ भएको बताउनुभयो । कतिपय स्थानीय सरकारले संघीय कानुनसमेत बाझिने कानुन बनाएर काम गरेकाले पनि असहज परिस्थिति सिर्जना भएको उहाँको भनाइ थियो ।

अन्तर्क्रिया कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौँका शाखा अधिकृत कृष्णमान श्रेष्ठलगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि प्रधानाध्यापकहरूले धेरै प्रश्न राखेका थिए । कार्यक्रम कन्या मन्दिर माध्यमिक विद्यालय काठमाडौँमा भएको थियो ।

