भास्कर तेजश्री स्मृति प्रतिष्ठानको तालिम सैद्धान्तिकभन्दा प्राक्टिकल दैनिक जीवनमा काम लाग्ने : प्रशिक्षक तथा रोष्टर प्रशिक्षक

काठमाडौँ । भास्कर-तेजश्री स्मृति प्रतिष्ठानको तालिम सैद्धान्तिकभन्दा प्राक्टिकल, दैनिक जीवनमा काम लाग्ने भएको सहभागी प्रशिक्षक तथा रोष्टर प्रशिक्षकले बताएका छन् । तालिम समापन कार्यक्रममा सहभागी प्रशिक्षकहरूसँग प्रतिक्रिया लिने क्रममा उनीहरूले सो कुरा बताएका हुन् ।

सहभागी प्रशिक्षक दुर्गा खनालले अन्य तालिमहरुमा बढी सैद्धान्तिक कुरा हुने गरेको तर प्रतिष्ठानले गरेको यस प्रशिक्षक प्रशिक्षणमा सैद्धान्तिकभन्दा प्राक्टिकल अर्थात् अभ्यासात्मक रहेको बताउनुभयो । उहाँले यस तालिमको उद्देश्य नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुर्व्यवहार रोकथामका लागि नवयुवालाई सशक्त एवं जागरूक बनाउने भएको हुँदा त्यसका लागि आफू लागिपर्ने बताउनुभयो । त्यस्तै अर्का सहभागी प्रशिक्षक विनोद अधिकारीले प्रतिष्ठानको प्रशिक्षण अरुभन्दा युनिक रहेको बताउनुभयो । उहाँले यस प्रशिक्षणबाट एकातिर विद्यार्थीहरुलाई जागरुक र सशक्त बनाउनुपर्छ भने अर्कातिर आफ्नै लागि पनि समय छुट्याउनुपर्छ नत्र नसर्ने रोगबाट उपचारमा धेरै आर्थिक नोक्सानी र दु:ख व्यहोर्नुपर्ने ज्ञान समेत हासिल हुने बताउनुभयो । आफ्नो जीवनका लागि पनि भास्कर-तेजश्री स्मृति प्रतिष्ठानको तालिम उपयोगी रहेको उहाँको भनाइ थियो ।

भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानले शिक्षा तथा मानव स्रोतविकास केन्द्रको सहकार्यमा सानोठिमी भक्तपुरमा नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुर्व्यवहार रोकथाम सम्बन्धी पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम दिएको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सिक्ने र सिकाउने क्रम सधैँ चलिरहने बताउनुभयो । उहाँले भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानले तयार पारेको मोड्युललाई अन्य तालिमहरूमा पनि अभ्यास गराउन सकिने बताउनुभयो ।

काप्रीले नसर्ने रोगबाट बच्न ,लैङ्गिक समानता कायम गर्न र यौन दुर्व्यवहारबाट समुदायलाई बचाउन व्यावहारिक मोड्युल तयार पार्नुभएको र शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग सहकार्य गर्नुभएकोमा प्रतिष्ठानलाई धन्यवाद समेत दिनुभयो । उहाँले एकपटक प्रशिक्षण लिइसकेपछि ”भोलि के होला ? कसरी अगाडि बढ्ला ?” भन्ने चिन्ता नलिकन अन्य प्रशिक्षणमा यहाँ हासिल गरेका ज्ञान र प्रयोगलाई अन्यत्र फैलाउन पनि प्रशिक्षकलाई निर्देशन दिनुभयो ।

भास्कर-तेजश्री स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा. डा. रिता थापाले पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिममा धैर्यपूर्वक हरेक क्रियाकलापमा अल्छी नगरी तालिमका सम्पूर्ण कुराहरू सिकेर मास्टर प्रशिक्षक बन्नुभएकोमा सम्पूर्ण प्रशिक्षक तथा रोस्टर प्रशिक्षकलाई धन्यवाद दिनुभयो । थापाले अब विद्यार्थी भाइबहिनीहरूलाई सशक्त र जागरूक बनाउन आ-आफ्नो क्षेत्रमा कटिबद्ध भएर लाग्नुहुनेछ भन्ने विश्वास पनि व्यक्त गर्नुभयो । यस प्रशिक्षणबाट भास्कर-तेजश्री स्मृति प्रतिष्ठान पूर्ण रूपमा सफल भएको समेत उहाँको भनाइ थियो ।

प्रतिष्ठानले तालिम सम्पन्न गरेका सहभागी प्रशिक्षार्थीहरूलाई प्रशिक्षकको प्रमाण-पत्र सहित प्रशिक्षणका लागि चाहिने झोलालगायतका सामग्रीहरु पनि प्रदान गरेको थियो ।

Recommended For You