
काठमाडौँ । सम्पदा संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि अभिलेखीकरण पनि गर्दै जानुपर्ने काठमाडौँ महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले बताउनुभएको छ । अमूर्त सम्पदा संरक्षण एवं हरितालिका तीज पर्वको अवसरमा वडा नम्बर ८ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
हामी कला र संस्कृतिमा सम्पन्न छौँ ; हाम्रो कला संस्कृति अत्यन्त राम्रो र परिष्कृत छ तर भएको यति राम्रो कला संस्कृतिको संरक्षण र प्रवर्द्धन गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुको सट्टा हामी बाहिरको अनुकरण गर्न लागेका छौँ, त्यसैले कला संस्कृतिको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तालाई हस्तान्तरणका लागि पनि हामी चनाखो हुनुपर्ने संगतको भनाइ थियो ।
अध्यक्ष संगतका अनुसार ‘’काठमाडौँमा नै विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरू छन् । यिनको संरक्षण, प्रवर्द्धनका साथै प्रचारप्रसार हुन सके संसारलाई सहजै हाम्रो देश चिनाउन सकिन्छ । देशका मूर्तअमूर्त सम्पदा संरक्षणमा नारीहरूको सहभागिता अपरिहार्य छ । नयाँ पुस्तालाई सम्पदा हस्तान्तरणमा नारीहरूकै भूमिका महत्वपूर्ण हुने भएकाले समाज विकासका लागि नारीहरूलाई नै अगाडि बढाउन तिज विशेष कार्यक्रम आयोजना गरिएको हो ।’’
सामाजिक व्यक्तित्व श्याम सङ्गतले मूर्तअमूर्त सम्पदा संरक्षण र विकासमा काठमाडौँ महानगरपालिकाका वडा कार्यालयले प्रशंसनीय कार्य गरेको बताउनुभयो । सम्पदा हामी नेपालीको पहिचान समेत भएको हुँदा सम्पदाका क्षेत्रमा अझै राम्रो काम गर्नुपर्ने उहाँको सुझाव थियो ।
कार्यक्रममा वडा सदस्य एवं महिला सञ्जालका संयोजक सरस्वती राजभण्डारीले सहभागीलाई स्वागत गर्दै “वडा कार्यालयले गर्ने सम्पूर्ण काम वडावासीका लागि हो, त्यसैले वडाका हरेक कार्यक्रममा सहभागी भई राम्रो गरेमा प्रशंसा र कमीकमजोरी भएमा सुझाव दिन अनुरोध गर्नुभयो ।” कार्यक्रममा स्थानीय महिला दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।