धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना काम गर्ने कम्पनीको हातमा परेको भन्दै अब सो योजना पूरा हुनेमा आफू विस्वस्त रहेको बताएका छन् । बिहीबार कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्मि महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अब पश्चिम सेती परियोजना बन्नेमा म ढुक्क भएको छु, पश्चिम सेती ठग कम्पनीको हातमा परेको छै, अहिले लाइसेन्स पाएको कम्पनी काम गर्ने कम्पनी हो, काम गरेर देखाउने छ ।’
लगानी बोर्ड नेपालले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४ सय ५० मेगावाटको एसआर ६ जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपिसी इन्डिया लिमिटेडलाई लाइसेन्स दिएको छ । सो कम्पनी माथि आफूले भरोसा गरेको देउवाको भनाइ छ । पश्चिम सेतीसँगै पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणमा पनि भारतले तदारुकता देखाएको बताउँदै प्रधानमन्त्री देउवाले सो आयोजना निर्माण भए सुदूरपश्चिमको आर्थिक सोरुप फेरिने बताए ।
प्रधानमन्त्री देउवाले पश्चिम सेती र पञ्चेश्वरलगायत सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् । उनले पञ्चेश्वर आयोजनाका लागि भारतका प्रधानमन्त्रीले चासो दिएको र पश्चिम सेतीको पनि भारतीय कम्पनीले लाइसेन्स लिइसकेको बताए । देउवाले सुदूरपश्चिमको विकासका लागि रानी जमरा सिँचाइ आयोजना, चमेलिया जलविद्युत आयोजना, दोधरा–चाँदनी सुक्खा बन्दरगाहा निर्माणको कामलाई पनि सरकारले प्राथमिकता दिएको बताए । उनले सुदूरपश्चिमको मुख्य व्यापारिक क्षेत्र धनगढीमा भएको महोत्सवले यस क्षेत्रमा उत्पादन भएका वस्तुको बजारीकरणमा मदत पुग्ने बताए । उनले सुदूरपश्चिम पर्यटकीय सम्भावना बोकेको क्षेत्र पनि भएको भन्दै त्यका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न केन्द्र सरकार तयार रहेको बताए ।
प्रधानमन्त्रीलाई १५ किलोको माला
कैलाली उद्योग वाणिज्य संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ किलोको माला लगाउँदै यस क्षेत्रको बिकासका लागि १५ बुद्धे माग राखेको छ ।
२१ बुँदाबाट सुरु गरिएको महोत्सव केही माग पूरा भइसकेकाले मालाको तौल घटाइएको बताइएको छ । प्रदेशको गौरीफन्ट, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, मानसरोवर जोड्ने सडक, आइटी हबलगायत माग रहेका छन् ।
वर्षेनि सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले संघले महोत्सव आयोजना गर्दै आएको छ । यसपालि महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ । कैलाली उद्योग वाणिज्य सघंले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन ।
