अर्घाखाँची । अर्घाखाँचीका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने लक्ष्यका साथ अर्घाखाँचीमा कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ । अर्घाखाँचीमा क्रियाशील व्यावसायिक संस्थाहरू अर्घाखाँची चेम्बर अफ कमर्स र अर्घाखाँची उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप मिश्रले अर्घाखाँचीलाई संसारभर चिनाउनका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए ।
ुनेपालमा पहिलोपटक चेम्बर अफ कमर्स र उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव आयोजना गरेका छौं, मिश्रले भने, यो मेलाबाट हामी अर्घाखाँचीलाई संसारभर चिनाउने लक्ष्य राखेका छौं । मेलामा स्थानीय व्यवसायी तथा उद्यमीहरूका लागि विशेष स्टलको व्यवस्थापन गरिएको मूल आयोजक समितिका सदस्यसमेत रहेका अर्घाखाँची चेम्बर अफ कमर्सका प्रवक्ता हरिप्रसाद भुसालले जानकारी दिए । यही ११ माघदेखि २४ सम्म सदरमुकाम सन्धिखर्कमा हुने महोत्सवको तयारी सुरु भएको समेत आयोजकले जानकारी दिएको छ ।
