जुम्ला । तिला गाउँपालिका–६ की कुन्ती रावतको कुनै सीप सिकेर आत्मानिर्भर बन्ने सपना देखेकी थिइन् । तर, सीप सिकाउने मान्छेको अत्तोपत्तो थिएन । ‘तँ आँट म पुर्याउँछ’ भने झैँ उनको सपना तिला गाउँपालिका, उद्योग तथा उपभोत्ता हकहित संरक्षण कार्यालय र किडार्क नेपालले पूरा गरिदिएका छन् । हालसालै दुई महिने ढाका कपडा बुनाइ तालिम पाएपछि उनी निकै खुसी भएकी छिन् ।
उनले दुई तालिमले मात्रै दक्ष हुन नसकिएपछि फेरि एक महिने पुनर्ताजकी तालिम लिएको बताइन् । तीन महिने तालिमपछि ढाकाका सल बुन्न सिकेको उनले बताइन् । गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले पनि महिलापछि महिलमा आत्मनिर्भर बन्ने जोस पलाएको बताए । उनले भने, ‘गाउँपालिका हरेक महिला उद्यमी बन्न जरुरी छ ।’ जबसम्म महिला आत्मनिर्भर हुँदैनन् तबसम्म समृद्ध गाउँपालिका नहुने उनले बताए । निमित्त प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले परम्परागत शैलीमा रहेर महिलाको दैनिकी नफेरिने बताइन् । उनले भनिन्, ‘जुम्लाका हरेक महिलाले आफ्नो खुट्टामा उभिनुपर्छ । अनि, मात्रै महिला हिंसा रोकिन्छ । जागिरे जीवन त निश्चित अवधिको लागि हो । सीप नै जीवन जिउने आधार हो ।’
मंगलबार आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले तिलाका २० जना महिलालाई ढाका बुनाइसम्बन्धी तालिममा बोलाएको बताइन् । तर तालिममा १४ जना मात्रै सहभागी भएको उनको भनाइ छ । उद्योग तथा उपभोत्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्णा देवकोटाले तिला गाउँपालिकाका महिलालाई उद्यमशील बनाउने उद्देश्यले तालिमलाई सञ्चालन गरेको बताए ।
तिलाका महिलाले सिकेको सीपलाई उद्योगमार्फत आयआर्जनमा रुपान्तरण गर्न सक्ने वातावरण बनाउन अनुरोध गरेका छन् । ढाका बुनाइ तालिमका प्रशिक्षक पुष्पा रेस्मी मगरले कमजोर आर्थिक अवस्था नै महिलाको प्रगतिको बाधक भएको बताइन् । उनले भनिन्, ‘सिप सानो र ठुुलो हँुदैन । सुरुवात गर्नुहोस् ।’ ढाँकाबाट चोलो, साडी, खादा बनाउन सिकाइएको छ । तालिममा सहभागी मन्नु बुढाले ढाकामा सल बनाउन सिकेको बताइन । उनले यसलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाइन् । वल्र्ड भिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोग उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला, तिला गाउँपालिका जुम्लाको आयोजना र किर्डाक नेपालको साझेदारीमा ढाका बुनाइसम्बन्धी सीप दिएको हो ।
