साझा प्रकाशनको गरिमालाई माथि उठाउन सबैले पहल गरौँः महामन्त्री गगन थापा

काठमाडौँ । साझा प्रकाशनले गरेको पुस्तक प्रदर्शनी अवलोकन गर्न गएका काँग्रेस महामन्त्री गगन थापाले इतिहास बोकेको साझा प्रकाशनको गरिमालाई माथि उठाउन सबै सरोकारवालाले पहल गर्नुपर्ने बताएका छन् ।

महामन्त्री थापाले साझा प्रकाशनको अहिलेको अवस्था दयनीय छ तर प्रकाशनको इतिहास गर्विलो छ, त्यसैले यस संस्थालाई मजबुत बनाई अगाडि बढ्नुको विकल्प नरहेको बताए । उनले यही प्रकाशनको किताब पढेर धेरै राजनीतिज्ञ भयौँ, धेरै प्रोफेसर भयौँ, अब यसलाई आफ्नो लयमा अगाडि बढाउने दायित्व पनि हाम्रै भएकाले यसको सुदृढीकरणका लागि लाग्न सबैलाई आग्रह गरे । थापाले आफूले पनि साझाको गरिमालाई माथि उठाउन सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

साझा प्रकाशनका महाप्रबन्धक प्रल्लाद पोखरेलले साझाको अहिलेको समग्र अवस्थाका बारेमा काँग्रेस महामन्त्री थापालाई जानकारी गराएका थिए । साझा प्रकाशनलाई थोरै मात्र सरकारले दृष्टि दिने हो भने साझा पहिलेकै स्थितिमा पुग्ने महाप्रबन्धक प्रल्हाद पोखरेलको विश्वास थियो । साझा प्रकाशनका कर्मचारीहरूले साझाको दायित्व पनि जनकशिक्षा सामग्री केन्द्रले खोसिदिएर साझालाई अप्ठ्यारो पारेको गुनासो गरेका थिए । एकातिर जनकशिक्षाले विद्यालयका सम्पूर्ण पुस्तक आफैँ प्रकाशन र विक्रीवितरण गर्छु भन्ने तर समयमा काम गर्न पनि नसक्ने अवस्था छ भने अर्कोतर्फ ११ र १२ को अनिवार्य नेपाली र अङ्ग्रेजी पुस्तक प्रकाशन र बिक्रीवितरण गर्दै आएको साझाको काम पनि खोसेको अवस्था छ ।

पुस्तक प्रदर्शनी गत पौष १७ गतेदेखि भोलि पौष ३० सम्म चल्नेछ । प्रदर्शनीमा विभिन्न विधाका साझा प्रकाशनद्वारा प्रकाशित पुस्तक र नेपाल प्रज्ञा प्रतिष्ठान, सिनास, लगायत अन्य प्रकाशनबाट प्रकाशित महत्वपूर्ण पुस्तकहरू राखिएका छन् । साझा प्रकाशनले समयसमयमा पुस्तक प्रदर्शनी गरिरहेको छ । पछिल्लो समयमा साझाको पुस्तक प्रदर्शनीमा युवाहरूको चासो पनि बढेको साझाका कर्मचारीहरू बताउँछन् ।


Recommended For You