विद्यार्थीको दिवा खाजामा समेत भ्रष्टाचार

सिराहा। सिराहाका सामुदायिक विद्यालयहरूमा दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता भएको छ । धनगढीमाई नगरपालिकाअन्तर्गतका दिवा खाजा कार्यक्रम सञ्चालन भएका विद्यालयहरूमा अनियमितता भएको हो। धनगढीमाई नगरपालिका–८ इटारीस्थित कक्षा ५ सम्म पढाइ हुने जनता आधारभूत विद्यालयको हाजिरी रजिष्ट्ररमा १२६ जना विद्यार्थीको नामांकन छ । शिक्षा शाखाले अनुगमन गर्दा ८९ जना फेला परेको र त्यसमा १५ प्रतिशत (१३ जना) संख्या थप गरी १०२ जना विद्यार्थीको १५ रुपैयाँको दरले ९० दिनको एक लाख ३७ हजार ७०० अनियमतिता भएको पाइएको छ । यस विद्यालयमा ३० देखि ३५ जनामात्र विद्यार्थी उपस्थित हुने गरको स्थानीय बताउँछन् । धनगढीमाई नगरपालिका–३ कुड्वा हनुमान नगरस्थित दलित जनजाती विद्यालय कक्षा ३ सम्म पढाइ हुन्छ । विद्यालयको हाजिरी रजिष्ट्ररमा ९१ जना विद्यार्थीको नामांकन छ । शिक्षा शाखाले गरेको अनुगमनमा ७८ भेटिएको उल्लेख छ । सोही आधारमा १५ प्रतिशत थप गरेर ८४ जना विद्यार्थीको ९० दिनको लागि १५ रुपैयाँका दरले एक लाख ३४ हजार चारसय रुपैयाँ निकासा पाएको छ । तर, गत माघ ३ गते बालकक्षासहित २५ जना विद्यार्थी उपस्थिति थिए ।

नगरभित्रका अन्य आधारभूत विद्यालयको अवस्था पनि योभन्दा फरक छैन । खाजाको रकम अनियमितता गर्ने नियतले नै प्रधानाध्यापकले विद्यार्थी संख्या बढाउँदा पनि शिक्षा शाखाका कर्मचारी निश्चत प्रतिशत कमिसन लिएर विद्यालयले पेस गरेकै विवरणको आधारमा सबै शीर्षकको रकम सहजै सिफारिस गर्ने गरेको आरोप छ । विद्यालयमा दिवाखाजा तथा अन्य शीर्षकको रकम छुटा–छुटै पठाउने गरेकाले अत्यन्त न्यून रकम देखिए पनि शाखाका कर्मचारी तथा विद्यालयका प्रध्यानाध्यापकले यसमा ठूलै रकमको चलखेल गर्ने गरेको नाम नखोल्ने सर्तमा एकजना अवकास प्राप्त प्रधानाध्यापकले सुनाए । उनले भने, ‘प्रत्येक विद्यालयमा विर्षिक रुपमा करिव १५ वटा विद्यालय शिक्षा सुधारदेखि लिएर विभिन्न मसलन्द, नन–स्यालरी, अडिट खर्च लगायतको शिर्षकमा गरी १०० विद्यार्थीको नामांकन रहेको विद्यालयमा ५ लाखसम्म जाने गरेको छ ।’

तर, यहाँका प्रधानाध्यापकले भने एक/दुई शीर्षकबाहेक आएको रकममा शाखाको मिलोमतोमै व्यापक भ्रष्टाचारी गर्ने गरेको उनको आरोप छ । उनले थपे, ‘प्रधानाध्यापकले अहिले शिक्षा शाखाका कर्मचारीलाई नजराना नतिरे उसको बिल, भरपाइसमेत फछ्र्यौट हुँदैनन् । अहिले विद्यालयमा शिक्षको नाममा व्यापक रूपमा भ्रष्टाचार मौलाएको देखिन्छ ।’ शिक्षा शाखाले दिवाखाजामा अनियमितता हुने महसुस गरेर परीक्षा र अन्य समयमा गरेको अनुगमनको आधारमा खाजाको रकम दिने गरेको दाबी गरेको छ । नगरले शिक्षा शाखाका लागि काजमा खटाइका प्रदिप कुमार साहले भने, ‘खाजा कार्यक्रममा अनियमितता हुने गरेको गुनासोपछि नगर शिक्षा शाखाले परीक्षा र अन्य समयमा उपस्थित विद्यार्थी संख्यालाई आधार मानेर १५ प्रतिशत संख्या थप गरी खाजाको रकम पठाउने निर्णयअनुसार गरेका छौँ ।’

यसरी विद्यालयमा खाजा कार्यक्रमको नाममा हुने अनियमितताको रकम प्रधानाध्यापक हुँदै शिक्षा शाखासम्म जाने शिक्षक बताउँछन् । नगरपालिकाले वडा नम्बर ८ स्थितको जनता माध्यामिक विद्यालय अयोध्या नगरका शिक्षक प्रदीपकुमार साहलाई शिक्षा शाखाका लागि काजमा खटाइ उनको सट्टा शिक्षक भर्ना गरी तलबभता खुवाउने गरेको स्थानीय बताउँछन् । धनगढीमाई नगरपालिकामा ८ वटा माध्यामिक विद्यालय २५ वटा आधारभूत र ४ वटा मर्दशा गरी जम्मा ३७ वटा विद्यालय छन् । २०७८/७९ मा इमिसको आधारमा करिव १० हजारभन्दा माथि विद्यार्थीहरु अध्यनरत रहेको शिक्षा शाखाले जनाएको छ । यस पालिकामा नेपाल सरकारको इमिसको आधारमा जम्मा १९ वटा निजी विद्यालय रहे पनि जम्मा २५ वटा विद्यालय संचालनमा रहेको शाखाले जनाए ।

नगरमा रहेका जम्मा ३७ विद्यालयको लागि गत आर्थिक वर्षमा पालिकाले ७५ दिनको ६१ लाख ७१ हजार ७०० रुपैयाँ र चालू आर्थिक वर्षमा ९० दिनको ५२ लाख २१ हजार पेस्कीबापतको रकम निकासा गरिएको जनाएको छ । राज्यले विद्यालयमा विद्यार्थी उपस्थिति संख्या बढाउन दिवाखाजाको कार्यक्रम सचालन गरे पनि विद्यार्थी संख्या नबढेर अनियमितता बढेको पाइएको छ । पछिल्लो समय राज्यले शिक्षामा जति नै लागानी गरे पनि निगरानी बढाउन नसक्दा शिक्षा क्षेत्रको अवस्था दिनप्रतिदिन खस्किँदै गइरहेको छ ।


Recommended For You