चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यो निर्वाचन क्षेत्रमा काँग्रेसले माओवादी केन्द्रलाई समर्थन गरेको थियो ।
यस निर्वाचन क्षेत्रमा पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने चर्चा थियो । अध्यक्ष प्रचण्ड गोरखा २ मा गएपछि माओवादीले डा. भोजराज अधिकारीलाई यस क्षेत्रबाट उठाएको हो । काँग्रेस चितवनले माओवादीलाई नछाड्ने भन्दै कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाल लोकतान्त्रिक संघीय गणतन्त्रमा प्रवेश गरिसकेपछि २०७४ मा भएको पहिलो स्थानीय निर्वाचनमा पनि कोइराला भरतपुर महानगरपालिकामा मेयरमा उठ्ने तयारीमा थिए । काँग्रेसले अन्तिममा उनको टिकट खोसेर प्रचण्डकी छोरी रेनु दाहाललाई समर्थन गरेको थियो । चितवन ३ मा काँग्रेसका बागी जगन्नाथ पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् । उता नेकपा एमालेले भने चितवन ३ बाटै जिल्ला अध्यक्ष रामकुमार न्यौपानेलाई उमेदवार बनाएको छ । यसअघि सो निर्वाचन क्षेत्रमा एमालेले राप्रपाका विक्रम पाण्डेलाई सघाउने सहमति भएको थियो ।
