काठमाडौं । नेपाल सरकारका पूर्वसचिव, समालोचक तथा निबन्धकार गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ कृतिको लोकार्पण गरिएको छ । आइतबार राजधानीमा एक समारोहबीच कूटनीतिज्ञ एवं भाषाविद् जयराज आचार्यले समालोचनात्मक कृतिको लोकार्पण गरेका हुन् । प्रकाशक सुरभि साहित्य प्रतिष्ठानले आयोजना गरेको लोकार्पण समारोहमा समालोचक डा. लेखप्रसाद निरौला र ठाकुर शर्माले २ सय ६० पृष्ठ लामोको कृतिको समीक्षा गरेका थिए ।
कृतिमा ३२ वटा समालोचना संग्रहित छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा, बिपी कोइराला, गुरुप्रसाद मैनाली, माधवप्रसाद घिमिरे, पारिजात, रमेश विकल, हरिभक्त कटुवालसम्मको सिर्जनाको समालोचना लेखक मैनालीले गरेका हुन् ।समारोहमा कूटनीतिज्ञ एवं भाषाविद् जयराज आचार्य, पूर्वमुख्यसचिव विमल कोइराला, डा. गार्गी शर्मा लगायतले लेखक मैनाली र कृतिबारे चर्चा गरेका थिए । लेखक मैनालीले आफूले साहित्यिक समालोचनाको सुरुआत एसएलसी पास गरेपछि नै गरेको स्मरण गरे ।
‘अभिव्यञ्जना यात्राप्रति’ प्रकाशन गर्ने निधो झण्डै चार दशकअघि नै गरेको उनले बताए ।२०४० देखि २०७९ सालसम्म लेखिएका समालोचनाहरू कृतिमा समावेश गरेको उनले जानकारी दिए । मैनालीका ‘अवसाद’, ‘अभिनयी’ (निबन्धसंग्रह), ‘आँखाभरि रमिता मनभरि वेदना’ (नियात्रा), ‘युगकवि सिद्धिचरण : कृति र प्रवृत्ति विश्लेषणु (समालोचना) ‘अपेक्षा र अनुभूति’ (सामयिक निबन्ध), ‘घाउ आफैँलाई दुख्छ’ .निबन्धसंग्रह) लगायत कृतिहरू यसअघि प्रकाशित छन् ।
