नमुना पाठशाला : संस्कृत शिक्षामा समावेशी बटुक

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा रहेको श्रीयोगी नरहरिनाथ अध्यात्म विज्ञानगीता पाठशाला समावेशी समुदायका व्यक्तिलाई अध्यापन गराउने नमुना पाठशालाका रूपमा परिचित छ । समाजमा ब्राह्मण समुदायले मात्र अध्ययन गर्ने भन्ने मान्यता बोकेको संस्कृत विषयमा अहिले विभिन्न जातजातिको पनि आकर्षणको विषय बन्न थालेको छ । गैँडाकोटको श्रीयोगी नरहरिनाथ आश्रममा विभिन्न जातजातिका विद्यार्थीले संस्कृत शिक्षा पढिरहेका छन् ।

यहाँ समावेशी २४ बटुक आश्रित छन् । यहाँ शिल्पकारसहित मगर, चेपाङ, तामाङ, माझी, ठकुरी, क्षेत्री समुदायका बालक अध्ययन गरिरहेका छन् । आवासीयरूपमा उनीहरुलाई संस्कृत र आधुनिक शिक्षाको समन्वयात्मक शिक्षा नि:शुल्करूपमा प्रदान गरिएको छ । अमित चेपाङ १४ वर्षको भए । चितवन कविलास घर भएका अमित संस्कृत पढ्ने रुचिले अहिले आश्रममा अध्ययन गरिरेका छन् । उनलाई संस्कृत विषय पढ्ने कौतुहलताले गैँडाकोटसम्म डोर्‍याएको हो । “संस्कृत पढ्न मन लाग्यो, नयाँ विषय अनि अहिलेसम्म घरमा कसैले नपढाएकाले आमाले राम्रो हुन्छ भनेर भन्यो र मलाई पनि पढ्न मन लागेर यहाँ आएको हो”, उले भने ।

नवलपुरको डेढगाउँका सुजन परियारले संस्कृतसँगै अन्य आधुनिक शिक्षा प्रणालीमा अध्यापन हुने विषय पनि अध्ययन गर्छन् । सत्र महिनादेखि यहाँ अध्ययन गरिरेका सुजन परिवार र आफन्तमा संस्कृत पढ्ने पहिलो व्यक्ति हुन् । उनीसँगै अहिले उनको परिवार पनि खुसी छ । “यहाँ सबैलाई समान व्यवहार छ, मलाई पण्डित बन्न मन छ”, उनले भने, “अनि विद्वान् पनि, विद्वान् बन्न मन लागेर यहाँ आएको हुँ ।” रामेछापबाट आश्रममा आएका १४ वर्षका पुकार माझीको दैनिकी बिहान ५ बजे उठ्ने, नित्यकर्म गर्ने र संस्कृत विषयको अध्ययन गर्नेछ । समाजमा हुने विभिन्न धार्मिक काममा पुगेर माझीले स्वस्ती वाचनसमेत र्गछन् । उनले भने, “हामी यहाँ संस्कृत, गणित, विज्ञान सबै विषय पढ्छौँ, पढ्ने समयबाहेकका समयमा देवघाट, शाश्वतधाम, नारायणी नदीलगायतमा गुरुसँग घुम्न जान्छाँै, पितृकार्य र अन्य धार्मिक कार्यमा स्वस्ती वाचन पनि गर्छौं ।”

संस्कृत भाषाको संरक्षणका लागि विभिन्न स्थानमा गुरुकुल र शिक्षालय सञ्चालनमा छन् । अहिले नयाँपुस्ताको रुचि पनि उत्तिकै देख्न सकिन्छ । गोर्खाका १२ वर्षीय प्रशान्त तामाङ पण्डित बन्ने र कर्मकाण्ड गर्ने मनसायले अध्ययन गरिहेका छन् । “म अहिले संस्कृत पढ्दै छु, पछि कर्मकाण्ड गर्ने रहर छ”, उनले भने, “संस्कृत भाषा सिक्ने र पढ्ने रहरले नै यहाँ आएको हुँ ।” पाठशालामा कक्षा ६ र ७ मा अध्यापन हुन्छ । श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रमले गुरुकुलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठनपाठन गर्ने गराउने व्यवस्था मिलाउँदै आएको आश्रमका पिठाधिस योगी खेचरनाथले बताए । समाजबाट उठेका सिदा वा उत्सवमा आउने भोजनबाट भरणपोषण चल्दै आएको उनले जानकारी दिए । “संस्कृत शिक्षामा समावेशी धपमा अध्ययन अध्यापन हुनुले यसको महत्व बढाउँछ, यसरी भाषा, संस्कृतिको संरक्षणमा सबै एकजुट हुन आवश्यक छ”, उनले भने ।

पूर्वीय दर्शन र पाश्चात्य दर्शनलाई सँगसँगै अगाडि बढाएर समावेशी रूपमा वेद, गीता र संस्कृतको अध्ययन, अध्यापन भइरहेको आश्रमका पिठाधीश योगी खेचरनाथको भनाइ छ । बटुकहरूको शिक्षादिक्षाका लागि अहिलेसम्म सरकारबाट सहयोग प्राप्त नभएको उनको गुनासो छ । “हामीले अहिलेसम्म कहीँकतैबाट सहयोग पाएका छैनौँ, मासिक एक लाख ५० हजार खर्च हुन्छ”, उनले भने, “कसैले विवाह उत्सव, कसैले पितृलाई सम्झने नामलगायतमा विभिन्न रूपमा सहयोगीको सहयोग जुटिरहेको छ, सोहीअनुसार व्यवस्थापन गरेका छौँ ।”

आश्रमले गुरुयोजनासहित ठूलो रुप देखेको छ । त्यो शङ्कल्प पूरा गर्न भौतिक पूर्वाधार आवाससहितको समावेशी गुरुकूल विद्यापीठ भवन, गुरू अतिथि गृह भवन, गोरखनाथ मन्दिर भवन, गौशाला भवनलगायतका अन्य विभिन्न भौतिक संरचनाको निर्माण गरी गुरुकुलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठनपाठन गर्ने गराउने व्यवस्था गरिने उनी बताउँछन् ।


Recommended For You