धनुषा । होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत मंगलबार महामूर्ख सम्मेलनको आयोजना गर्दै छ । जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले फागुन २२ र २३ मा होली महोत्सवको आयोजना गरेको हो । महोत्सवअन्तर्गत होलीको जोगिरा प्रतियोगिता सम्पन्न भइसकेको छ भने मंगलबार महामूर्ख सम्मेलन हुँदै छ ।
महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । यसअन्तर्गत महत्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ । मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न व्यङ्गात्मक पदवीबाट सम्मान गर्ने चलन छ । महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरूको माला बनाएर लगाउने प्रचलन रहेको छ ।
यो सम्मेलनको परिकल्पनाकारमध्ये एक रहेका मैथिली साहित्य परिषद्का पूर्वमहासचिव एवं चर्चित पत्रकार चन्द्रकिशोर झाले भने, ‘नेपालमा २०४६ सालमा बहुदल आएको थियो । राजनीतिक रूपमा परिवर्तनको समय थियो । यो परिवर्तनमा समाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरूको योगदानको आवश्यकता थियो, यस्तो अवस्थामा यो अवधारणा आएको थियो ।’
महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरमा यो निकै चर्चित मानिन्छ । यस सम्मेलनको प्रारम्भ वीरगञ्जबाट भएको हो । मैथिली साहित्य परिषद् वीरगञ्ज २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो । पहिलोपटकको महामूर्ख लाला माधवेन्द्र भएका थिए ।
