संघीय शिक्षा ऐन जारी गरी शिक्षा क्षेत्रका समस्या प्याकेजमै सम्बोधन गर्न सरकार लागेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सङ्घीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन् । पद्मोदय माध्यमिक विद्यालयको हीरक महोत्वस एवं ७७औँ वार्षिकोत्सवको कार्यक्रममा प्रधानमन्त्री दाहालले सङ्घीय शिक्षा ऐनमार्फत शिक्षाक्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने, ‘सङ्घीय शिक्षा ऐन पारित गरी शिक्षाक्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध छ ।’

प्रधानममन्त्री दाहालले शिक्षा, सामाजिक र सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको समृद्धि तथा विकासको महत्वपूर्ण पक्ष भएको बताउनुभयो । उनले भने, ‘जुन राष्ट्रले शिक्षाको गुणस्तर र विकासमा जोड दिन्छ, त्यो राष्ट्रले विकासका हरेक पक्षमा आफूलाई अब्बल प्रमाणित गर्न सक्छ । त्यो देशको जनशक्तिले राष्ट्रिय मात्र नभएर विश्व बजारमा प्रतिस्पर्धामा अग्रता हासिल गर्दछ ।’

शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी, आधुनिक विज्ञान प्रविधि र व्यावसायिक बनाउन वर्तमान बदलिएको राजनीति एवम् सामाजिक व्यवस्थाअनुरुप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक भएको प्रधानमन्त्री दाहालले औँल्याउनुभयो । सरकारी विद्यालयको गुणस्तर वृद्धिका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले शिक्षाको विकास देश र जनताको सर्वाङ्गीण विकासको आधार स्तम्भ भएको उल्लेख गर्दै प्राविधिक शिक्षालाई जोड दिँदै विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिर्वाय विषय बनाउँदै उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन आवश्यक भएको बताउनुभयो । उहाँले पद्मोदय देशकै अब्बल विद्यालयको रुपमा स्थापित भएको भन्दै प्रशंसासमेत गरे । कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले पद्मोदय विद्यालयलाई देशकै नमुना बनाउन सरकारसँग अपिल गरे ।


Recommended For You