नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्नुभएको छ । आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुग्नुभएको हो ।लिगको अन्तिम खेल आज नेपाल र युनाइटेड अरब इमिरेट्सबीच भइरहेको छ । उहाँले नेपाली खेलाडीलाई विजयको शुभकामना समेत दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कीर्तिपुर मैदानमा आजको खेल हेर्न ठूलो सङ्ख्यामा नेपाली दर्शक पुगेका छन् । अनुहारमा नेपाली झण्डाको रङ्ग पोतेका र नेपाली झण्डा बोकेका दर्शकले नेपाली खेलाडीलाई हौसला प्रदान गरिरहेका छन् ।


विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा युएईका कप्तान मोहम्मद वसीमले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको युएईका लागि वसीमले ४३ बलमा ६३ रन बनाएर मैदान बहिरिए । उनलाई नेपालका सन्दीप लामिछानेले आउट गराएका हुन् ।

त्यसअघि नेपालका ललितनारायण राजवंशीले तेस्रो ओभरको पाँचौँ बलमा युएईका आर्यन लाक्रालाई ६ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।यो समाचार तयार गर्दासम्म यूएईले २२ ओभरमा २ विकेट गुमाएर ११८ रन बनाएको छ । आजको खेलमा नेपालले युएईलाई पराजित
गर्न सके आगामी जुन/जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।
