सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त : डेढ सय दीक्षित, आठलाई स्वर्ण

दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयका आठ जना विद्यार्थीले स्वर्ण पदक प्राप्त गरेका छन् । आइतबार महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित तेस्रो दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एंव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वर्ण पदकबाट उनीहरूलाई विभूषित गरे । दीक्षान्त समारोहमा दीक्षित डेढ सय बढी विद्यार्थीमध्ये आठ जनाले स्वर्ण पदक, एक जनाले चान्सलर पदक र एक जनाले भाइस चान्सलर पदक प्राप्त गरे । विश्वविद्यालयको केन्द्रीय क्याम्पसका विद्यार्थी व्यवस्थापन सङ्कायबाट स्नातकोत्तर मुकेशराज जोशीले चान्सलर पदक प्राप्त गरे । इन्जिनियरिङ सङ्कायमा स्नातक डिल्लीराज शर्माले भाइस चान्सलर पदक प्राप्त गरे । केन्द्रीय क्याम्पसका हेमा जोशी, बलदेव भट्ट, मुकेशराज जोशी, केशवदत्त जोशी, महेश्वरी बडु, मुकुन्दसिंह क्षेत्री, शिवशङ्कर पाण्डेय र डिल्लाराज शर्माले स्वर्ण पदक प्राप्त गरे ।

दीक्षान्त समारोहमा इञ्जिनियरिङ सङ्कायका २५, सिएसआइटीका १६, बिएस्सी का १४, बिएडका १७, एमएडका १५, बिएका चार, एमएका १४, बिबिका १७, बिबिएसका ३७ र एमविएमका २० गरी एक सय ७९ जना विद्यार्थी दीक्षित भएका छन् । अवसरमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभर्र्इ व्यावहारिक र जीवनोपयोगी हुनुपर्ने बताए । “विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्छ”, उनले भने, “विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभइ व्यावहारिक, जीवनोपयोगी तथा समाजको रूपान्तरणका लागि सहयोगी हुनुपर्दछ ।” विश्वविद्यालयबाट पास आउट भएका आठ सय ५५ विद्यार्थीमध्ये एक सय ७९ मात्रै दीक्षान्त समारोहमा सहभागी भएको विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले बताए ।

२०६८ मा स्थापना भएको विश्वविद्यालयले २०७१ देखि शैक्षिक कार्यक्रम अघि बढाएको थियो । पहिलो पटक २०७४ मा दीक्षान्त समारोह आयोजना गरेको विश्वविद्यालयले कोरोना सङ्क्रमणलगायत कारणले पाँच वर्षपछि असारमा दोस्रो पटक विद्यार्थीलाई दीक्षित गरेको थियो । विश्वविद्यालयको केन्द्रीय र आङ्गिक गरी १६ क्याम्पसमा २३ हजार तीन सय ९९ विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले हाल विद्यालयमा ४९१ जना प्राध्यापक,१७९ जना कर्मचारी रहेको बताए । “आउँदो वर्षदेखि नै वनविज्ञान र हर्वल साईन्सको कार्यक्रम सञ्चालन गर्ने योजनामा छौ”, उपकुलपति जोशीले भने, “विश्वविद्यालयको आङ्गिक सङ्कायको रुपमा रहने गरी स्वास्थ्य मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र यस विश्वविद्यालयको त्रिपक्षीय सम्झौता भएको छ ।” विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, विज्ञान तथा प्रविधि इञ्जिनियरिङ, कृषि विज्ञान र कानुन र स्वास्थ्य विज्ञान सङ्काय गरी आठ सङकाय सञ्चालन गरेको उनले बताए ।


Recommended For You