काठमाडौँ । प्रा. पुरुषोत्तम दाहालद्धारा लिखित उपन्यास कालपात्रको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमका बिच लोकार्पण भएको छ । लोकार्पण कार्यक्रममा उपन्यास समीक्षकहरुले कालपात्र उपन्यासका पात्र नै अचम्मका रहेको टिप्पणी गरेका थिए ।
कालपात्र उपन्यास लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नारायणकाजी श्रेष्ठले समाजलाई रुपान्तरण गर्ने भनेको राजनीतिले नै हो तर राजनीति नै अति विकृत भएको यस समाजलाई सुधार्नकै लागि यो पुस्तक जन्मिएको टिप्पणी गरेका छन् । उनले जो मान्छे मानव जीवन मुक्ति यात्रा हो भन्ने कुरामा सचेत समयमै रहन्छ त्यो मुक्तिको नजिक पुग्दै जाने र जो मान्छे मेरो जीवन मुक्ति यात्रा हो भनेर बोध गर्दैन ऊ खराब आचरणमा फस्दै जाने खतरा बढेको समेत बताए । अन्ततः यो मानव जीवन त मुक्ति यात्रा नै हो भन्ने बोध गराउन उपन्यास सफल हुने पनि मन्त्री श्रेष्ठले बताए ।
गृहमन्त्री श्रेष्ठले पार्टीहरु हो , तिमीहरु बदलिनुपर्छ, नेताहरु हा,े तिमीहरु बदलिनै पर्छ भनेर नागरिकले भनेको कुरा पनि कालपात्र उपन्यासले समेटेको उल्लेख गरेका छन् । उनले आफू सत्तामा हुँदा लोकसेवामा भनिदिनुन भनेर आउने गरेको, त्रिवि सेवामा भनिदिनुन भनेर आउने गरेकोप्रति व्यङ्ग्य गर्दै त्यही भनसुन नगर्ने समाज निर्माण गर्न आन्दोलन गरेको, क्षमतावानलाई अवसर दिनुपर्छ भनेर आन्दोलन गरेको आज त्यही भनसुनले काम गर्ने हो भने देश रुपान्तरण हुन नसक्ने पनि बताएका छन् ।

राजनीति र पत्रकारिता क्षेत्रका विकृति र विसङ्गतिलाई उजागर गर्दै लेखिएको उपन्यास कालपात्रमा जीवन दर्शनको खोजी गरिएको समीक्षक प्रा.डा. ज्ञानु अधिकारीले बताइन् । उनले कालपात्रलाई राजनीतिक उपन्यासको संज्ञा पनि दिएकी छिन् किनकि उपन्यासको शुरुमा नै सज्जन लोक पार्टीको स्थापना त्यसको उत्कर्ष र अपकर्षलाई उपन्यासमा देखाइएको हुँदा यसलाई राजनीतिक उपन्यास भन्न सकिने अधिकारीको समीक्षा थियो । उनले राजनीतिले राजनीतिक धर्म छोडेको, दुर्गन्धित बनेको विकृति र विसङ्गतिका कुरालाई उजागर गर्दै तार्किक रुपमा विकृति र विसङ्गतिका कारणहरु पनि उपन्यासले खुलाएको उल्लेख गरिन् ।
समीक्षक शोभाकर पराजुलीले लासमा पनि विभेद भएको कुरा कालपात्र उपन्यासले बोलेको बताए । उनले उपन्यासमा सम्पन्न होस् या विपन्न, विद्धान होस् या मूखर्, नेता होस् या कार्यकर्ता सबै जना नाङ्गै जल्ने वा नाङ्गै गाडिने गर्छन् तर कुनै लासलाई मालैमाला कुनै लासलाई केही छैन लासमा पनि किन विभेद भन्ने कुरा उपन्यासले छर्लङ्ग पारेको बताए । उपन्यासमा मान्छे बाहिर जे देखिन्छ भित्र त्यो नहुने, भित्र जे हुन्छ बाहिर त्यो नदेखिने सबै अभिनय मात्र हुने कुरा पनि उपन्यासमा भएको पराजुलीको बुझाइ थियो ।
कार्यक्रममा उपन्यासकार पुरुषोत्तम दाहालले मसानघाटबाट शुरु भएको कृति मसानघाटमा नै अन्त्य भएको उल्लेख गर्दै अरु पाठकहरुको मूल्याङ्कनमा छोडिदिएका छन् । उनले आफूले पैँतालीस वर्ष पत्रकारिता गरेको तर पत्रकारितामा पनि त्यत्तिकै विसङ्गति छ र त्यो विसङ्गति मौलाउन दिनुमा हिजो अर्थमन्त्रीले गरेको बजेट विनियोजनबाट पुष्टि हुने समेत बताए । उनले उपन्यास कालपात्र वडाअध्यक्षदेखि प्रदेश तथा प्रतिनिधि सभा सदस्यको हातमा पुगे हुन्थ्यो भन्ने आशय समेत व्यक्त गरे ।
लोकार्पण कार्यक्रमका अध्यक्ष प्रा.डा.कुलप्रसाद कोइरालाले उपन्यास कालपात्रमा आजको नेपाल प्रतिबिम्बन भएको बताएका छन् । उनले दार्शनिक कोणबाट हेर्ने हो भने मसानघाटबाट जीवनको शुरुवात हुने हो अन्त्य हुने होइन भने । मसानघाटमा त शरीरको मात्र अन्त्य हुने कोइरालाको भनाइ थियो । कोइरालाले अहिलेका तीन पार्टीका तीन नेता प्रचण्ड, ओली र देउवा जस्ता पात्रको अन्त्य नभएसम्म सामाज रुपान्तरण नहुने कुरा पनि व्यक्त गरेका थिए ।

