राष्ट्रिय कविता प्रतियोगितामा सिराहाका भट्टराई प्रथम

तनहुँ । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा शुक्रबारदेखि सुरु भएको राष्ट्रिय कविता प्रतियोगितामा सिराहाका अविनाश भट्टराई प्रथम भएका छन् ।  प्रतियोगितामा सङ्खुवासभाका सिजन श्रेष्ठ द्वितीय, झापाका केशव भट्टराई तृतीय भए । रौतहटका मनोज विश्वकर्मा, चितवनका सिर्जन अविरल, मोरङका पूजा आराधना, तनहुँका प्रकाश रम्घाली, गोरखाका भरतबाबु ढकाल र सिन्धुपाल्चोकका सुन्दर शिरीष सान्त्वना भए ।
प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमश: ५५ हजार, ४० हजार र २५ हजार नगद प्रदान गरिनेछ । त्यस्तै सान्त्वना हुनेलाई जनही १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ । उक्त पुरस्कार आज प्रदान गरिने गण्डकी वाङ्मय प्रतिष्ठानकी सचिव अन्जु दाहालले जानकारी दिए । साहित्यकार रमेश पौडेलको संयोजकत्वमा रहेको निर्णायक समितिले उत्कृष्ट कविता घोषणा गरेको हो ।  कविता प्रतियोगितामा देशभरबाट दुई सय ३७ कविता प्राप्त भएको थियो । दुई वर्ष अगाडि कार्यक्रम तय गरी कविता प्राप्त भएकामा सोही कवितालाई अहिले प्रतिस्पर्धामा सहभागी गराई घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए । उनले भने, “दुई वर्ष पहिला कार्यक्रम तय भई कविताहरु प्राप्त भएका थिए, त्यतिबेला कोभिडका कारण कार्यक्रम गर्न नसकेर स्थगित भयो, सोही कविता अहिले प्रतिस्पर्धामा सहभागी गराएर उत्कृष्ट घोषणा गरिएको हो ।”
सोही कार्यक्रममा गण्डकी वाङ्मय पुरस्कार २०७९ देखि वरिष्ठ साहित्यकार समालोचक नारायणप्रसाद गौतमलाई प्रदान गरिएको छ । ०५४ मा स्थापना भएको यो संस्थामा स्थापित रु एक लाख अक्षयकोषबाट साहित्यकार गौतमलाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशि १० हजार रहेको छ । कार्यक्रमकै अवसरमा कविता प्रतियोगितामा सहभागी कवितामध्ये उत्कृष्ट ६५ वटा कविता समावेश गरी स्मारिका प्रकाशित गरिएको छ । उक्त स्मारिकाको शुक्रबार साहित्यकार सरुभक्त श्रेष्ठले विमोचन गरे ।

Recommended For You