संस्कृत वाङ्मयभित्र रहेको ज्ञानराशिलाई लोकसमक्ष पस्किने अभिभारा  छात्रछात्राले बिर्सनहुँदैन : प्रधानमन्त्री दाहाल

बेलझुण्डी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवनस्तरमाथि उठाउन, देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन शिक्षण संस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन् । दाङको बेलझुण्डीमा नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, छात्रछात्रा र सम्पूर्ण शुभचिन्तक राजनीतिक आस्था एवं दलगत अभ्यासदेखि माथि उठेर शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न समर्पित हुनु जरुरी रहेको औँल्याए । विश्वविद्यालयबाट आर्जित ज्ञान, सीप र दक्षताको व्यावहारिक प्रयोगको बेला आएको उल्लेख गर्दै उनले कर्तव्यप्रतिको निष्ठा, आफूले आर्जेको ज्ञानप्रतिको विश्वास र दृढ इच्छाशक्तिका साथ यस विश्वविद्यालयको मर्यादा र प्रतिष्ठालाई ध्यानमा राखी अनुशासित भएर राष्ट्रसेवा र लोकहितमा प्रवृत्त हुन छात्रछात्रालाई आग्रह गरे ।
सरकारले नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवम् प्रवद्र्धनका लागि विश्वविद्यालयबीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिन चाहेको उल्लेख गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री दाहालले विश्वविद्यालयको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउन सरकारले स्पष्ट योजना अगाडि सारेको बताए ।  उनले विश्वविद्यालयका पाठ्यक्रमलाई समयसापेक्ष बनाउने विषयलाई सरकारले आप्mनो नीति कार्यक्रमभित्र समेटेको बताए ।  प्रधानमन्त्री दाहालले विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुने गरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्य र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयमार्फत गर्ने व्यवस्था मिलाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
अध्ययन गर्नु वा ज्ञान प्राप्त गर्नु र त्यसलाई व्यवहारमा उतार्नु सबैभन्दा महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै उनले दीक्षित विद्यार्थीलाई राष्ट्रको नवनिर्माणमा आफ्नो बौद्धिक क्षमता, शारीरिक शक्ति र मानसिक एकाग्रताको भरपूर उपयोग गर्न समर्थ रहने भनी शुभकामना दिए ।  “प्राचीन गुरुकुलमा दीक्षान्तका बेला गुरुहरू आफ्ना शिष्यले आफूले पढाएको र सिकाएको कुरालाई कत्तिको आत्मसात् गर्‍यो, आफूले दिएको ज्ञानलाई उसले व्यवहारमा उतार्न सक्छ कि सक्दैन भन्ने कुराको परीक्षण गर्थे”, प्रधानमन्त्री दाहालले भने, “यो कुरालाई मनन गरेर तपाईंहरूले पनि आफूले पाएको ज्ञानलाई व्यवहारमा उतार्ने प्रयत्न गर्नुहुनेछ ।” उनले संस्कृत वाङ्मयभित्र रहेको ज्ञानराशिलाई लोकसमक्ष पस्किने अभिभारा आफूहरूमाथि रहेको यथार्थलाई छात्रछात्राले नबिर्सने विश्वास व्यक्त गरे । “वर्तमान अवधि गुणस्तरका लागि प्रतिस्पर्धाको समय हो । आफ्नो क्षमता र स्तरवृद्धि गर्दै जाने हो भने अवसर स्वत: प्राप्त हुँदै जान्छन् । यो सत्यलाई हामी सबैले मनन गर्नुपर्छ”, उनले भने ।
सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने ऐतिहासिक अभिभारा पूरा गर्न लागिपरेको उल्लेख गर्दै उनले मुलुकमा समृद्धिको बिहानी ल्याउन आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउनु पनि त्यत्तिकै आवश्यक रहेको बताए। “राष्ट्रिय पुन:जागरणको यो महान् यात्रामा नेपाल संस्कृत विश्वविद्यालयले पनि आफ्नो अंशदान गर्नै पर्छ”, उनले भने । मानवीय सुख, समृद्धि, संस्कार तथा पर्यावरण संरक्षणका निम्ति भएका अद्वितीय अनुसन्धानको भण्डार संस्कृत भाषामा नै सुरक्षित रहेको उल्लेख गर्दै उनले नेपाल संस्कृत विश्वविद्यालय यही परम्पराको उत्तराधिकारप्राप्त र देशका अन्य विश्वविद्यालयभन्दा पृथक् रहेको बताए ।

Recommended For You