काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो ।
अघिल्ला वर्षमा कोभिड– १९ का कारण भौतिक माध्यमबाट पढाइ नभएको र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाएकाले नतिजा कमजोर रहेकामा हाल नियमित पठनपाठनले त्यसमा सुधार आएको विश्लेषण गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जिपिए शून्य दशमलव ८० देखि १ दशमलव २० ग्रेड ल्याउने २२ हजार विद्यार्थी अर्थात् शून्य दशमलव ४५ प्रतिशत देखिएका छन् । संवत् २०७८ को परीक्षाको परीक्षाफलमा यस ग्रेडमा शून्य दशमलव ६६ प्रतिशत विद्यार्थी थिए ।
जिपिए १.२० देखि १.६० सम्ममा यस वर्ष ३८ हजार सात सय ७७ अर्थात् ७.९९ प्रतिशत विद्यार्थी छन् भने गत वर्ष नौ प्रतिशत थिए ।
जिपिए १.६० देखि दुईसम्म प्राप्त गर्ने यस वर्ष ८८ हजार चार सय ४७ अर्थात् १८.२४ विद्यार्थी छन् भने गत वर्ष २०.३० प्रतिशत थिए ।
जिपिए २ देखि २.४० सम्म यसवर्ष एक लाख २२ हजार ९३ विद्यार्थी अर्थात् २१.०९ विद्यार्थी छन् भने गत वर्ष २३ प्रतिशत थिए ।
जिपिए २.४० देखि २.८० सम्म ल्याउनेमा यसपटक ८९ हजार तीन सय ३१ अर्थात् १८.४२ छन् भने गत वर्ष १८.३१ प्रतिशत थिए ।
जिपिए २.८० देखि ३ दशमलव २० सम्ममा ७२ हजार तीन सय ६२ अर्थात् १४.९२ प्रतिशत विद्यार्थी छन् भने गत वर्ष १४.१९ प्रतिशत थिए ।
जिपिए ३.२० देखि ३.६० ग्रेड ल्याउने ५५ हजार ६९ अर्थात् ११.३६ प्रतिशत छन् भने गत वर्ष ८.४० प्रतिशत थिए ।
जिपिए ३.६० देखि चार प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यस वर्ष २२ हजार चार सय ७५ अर्थात् ४.६३ प्रतिशत छ भने गतवर्ष १.९४ प्रतिशत विद्यार्थी थिए ।
यस वर्ष ननग्रेडेड हुनेमा १३ हजार नौ सय ९२ अर्थात् २.८९ प्रतिशत विद्यार्थी छन् । परीक्षामा चार लाख ८४ हजार नौ सय ३९ नौ विद्यार्थी रहेकामा चार सय ३१ विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने दुई सय ९० विद्यार्थीको परीक्षाफल स्थगन गरिएको बोर्डले जनाएको छ ।
अक्षराङ्कन पद्धतिबमोजिम ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम अङ्क प्राप्त गर्नेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्ताकङ् हुनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम प्राप्ताकङ् हुनेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्ताकङ् हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्ताकङ् हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्ताकङ् हुनेलाई डी प्लस, २० देखि ३० प्राप्ताकङ् हुनेलाई डी तथा २० भन्दा कम प्राप्ताकङ् हुनेलाई ई ग्रेड प्रदान गरिन्छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षा प्रणालीको सुधार र कक्षाकोठाको वातावरणमा सुधार आएमा नतिजामा सुधार आउने भन्दै समग्र नतिजाको मूल्याकङ्कनबारे विस्तृत अध्ययनपछि के आधारमा सुधार आयो भन्न सकिने बताए । उनले सामुदायिक र संस्थागत विद्यालयका आधारमा नतिजालाई तुलना गरेर विद्यार्थीबीच विभेद सिर्जना नगरिने स्पष्ट पारे । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले समग्रमा गत वर्षभन्दा यसवर्षको नतिजा सकारात्मक रहेको बताए । अक्षराकङ्न पद्धतिमा नतिजा प्रकाशन गर्दै आएको बोर्डले विषयगत र प्रदेशगत परीक्षाफलको नतिजा पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । बोर्डले मौका परीक्षा साउन महिनाको अन्तिममा सञ्चालन गर्नेछ ।
