एजेन्सी । दक्षिण कोरियाको राजधानी सिउलमा ह्यालोबिन पर्वका अवसरमा भेला भएको एउटा भिडमा भागदौड हुँदा १ सय ५१ जनाको मृत्यु भएको छ । ठूलो बजारमा भएको भागदौडमा १५० जना घाइते भएका छन्।
सयौं पसल र पार्टी रहेको इटाबोनमा शनिबार राति करिब १ लाखको भिड जम्मा भएको थियो । कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोबिन उत्सवमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसको ठूलो उपस्थिति भएको थियो ।
द कोरिया हेराल्डका अनुसार स्थानीय समयअनुसार मध्यरातअघि दर्जनौं मानिस एक होटलनजिकै बेहोस भएका थिए । एक घन्टामै एक सयभन्दा बढी मानिसको मृत्यु भइसकेको थियो । भागदौडबीच केही मानिसलाई ह्दयघात भएको थियो ।
भागदौडमा घाइते हुनेहरूमा अधिकांश २० देखि ३० वर्षका युवती रहेको प्राप्त विवरणमा जनाइएको छ । भागदौडका कारण ठूलो मानवीय क्षति भइरहँदा घटनास्थलमा १४० भन्दा बढी एम्बुलेन्स परिचालन गरिएको थियो ।
