पुस्तकालय दिवस : वक्तृत्वकलामा पाण्डे प्रथम

स्याङ्जा । सोह्रौँ पुस्तकालय दिवसका अवसरमा स्याङ्जाको कालीगण्डकीमा आयोजना भएको वक्तृत्वकला प्रतियोगितामा राधा पाण्डे प्रथम भएकी छन् । मातृभूमि सामुदायिक पुस्तकालय विर्घाको आयोजनामा भएको अन्तर माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा जनता माध्यमिक विद्यालय विर्घा अर्चलेकी छात्रा पाण्डे प्रथम भइन् ।
‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ विषयक शीर्षकमा गरिएको प्रतियोगितामा पालिकाभित्रका आठ विद्यालयको सहभागिता रहेको मातृभूमि पुस्तकालयका सचिव नारायणप्रसाद पाण्डेले बताए । प्रतियोगितामा देउराली माध्यमिक विद्यालयका छात्र विष्णु पाण्डेय द्वितीय, जनहित माध्यमिक विद्यालयका छात्रा एन्जिला राना तृतीय भए । प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष साबित्रा कोईराला, वडा नं। ४ का वडा अध्यक्ष यादवप्रसाद पाण्डे, जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक केशर पाण्डे, पुस्तकालयका कार्यवाहक अध्यक्ष हिमलाल पाण्डे, कोषाध्यक्ष चुमकला पाण्डेले मातृभूमि पुस्तकालय स्थापना भएसँगै यस क्षेत्रमा पुस्तक पढ्ने बानीको विकास हुँदै गएको बताए ।
यसैबीच, काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पुस्तकालयकर्मीमध्ये स्याङ्जाको कालीगण्डकी ४ बिर्घाको मातृभूमि सामुदायिक पुस्तकालयका जोगप्रसाद पाण्डे सम्मानित भए । पुस्तकालय क्षेत्रमा विगत ३० वर्षदेखि निरन्तर लागेका पाण्डेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री अशोककुमार राईले सम्मान गरे ।

Recommended For You