वागमतीमा ऐतिहासिक र्-याफ्टिङ आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन सकिने

काठमाडौँ । जिल्ला समन्वय समिति काठमाडौँको संयोजनमा र काठमाडौँ जिल्लाका काठमाडौँ महानगर लगायत सबै नगरपालिकाको आयोजनामा वागमती नदीमा र्याफ्टिङ सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलमा वागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिजाल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापित, उपप्रमुखहरू, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायत नगरपालिका तथा अन्य विषयगत निकायका व्यक्तिहरूको बाक्लो उपस्थितिमा र्याफ्टिङ शुरू गरिएको थियो ।

मन्त्री पुकार महर्जनले जिल्ला समन्वय समिति काठमाडौँले वागमती नदीलाई स्वच्छ सफा राख्न तथा आन्तरिक एवं बाह्य पर्यटकलाई वागमती नदीमा पनि र्याफ्टिङ गर्न सकिन्छ भन्ने सन्देश दिन गरिएको र्याफ्टिङ कार्यक्रमको प्रशंसा गरेका थिए । उनले कार्यक्रम गरेकोमा समन्वय समितिलाई शुभकामना दिँदै आगामी दिनमा समन्वयले गरेका यस्ता काममा वागमती प्रदेश पनि सहभागी भएर सहकार्य गर्न इच्छुक रहेको बताए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक कुमार रिजालले जिल्ला समन्वय समिति काठमाडौँले गरेको र्याफ्टिङ कार्यक्रमले सकारात्मक सन्देश दिने बताउँदै मुक्तकण्ठले प्रशंसा गरे । उनले कतिपय काम पालिका एक्लैले गर्न नमिल्ने र नसक्ने प्रकृतिका हुन्छन् । त्यस्ता काम जिल्ला समन्वय समितिले गर्न सक्दोरहेछ भन्ने प्रमाणित भएको बताए ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्ला समन्वय समितिले गरेको यस ऐतिहासिक र्याफ्टिङ कार्यक्रममा आफ्नो तर्फबाट हुन सक्ने सम्पूर्ण सहयोग रहने बताए । उनले वागमतीलाई संरक्षण गर्न हामी सबै लाग्नुपर्ने पनि बताए ।

जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले वागमती नदीमा हाम्रो ऐतिहासिक र्याफ्टिङ सफल भयो । अब आगामी दिनमा यसलाई एकातिर वागमती सभ्यता संरक्षण गर्न र अर्कातिर आन्तरिक एवं बाह्य पर्यटकको केन्द्र बनाउने लक्ष्य रहेको बताए । उनले वागमती नदीमा टिकट काटेर र्याफ्टिङ गर्न लाम लाग्ने अवस्थाको विकास गर्न सकिने बताए ।

सुन्दरीजलबाट शुरू भएको र्याफ्टिङ समापन कार्यक्रमलाई सम्बोधन गर्दै कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य (सुनिता) ले राम्रो काम गरेकोमा जिल्ला समन्वय समिति काठमाडौँलाई धन्यवाद दिइन् । उनले छोटो समयमा जिल्ला समन्वय समितिले सन्देशमूलक र्याफ्टिङ गर्न सकेको तर अझै सकारात्मक सन्देश दिन सकिने बताइन् । शाक्यले आगामी दिनमा अझ प्रभावकारी तवरले काम गर्नुपर्ने बताइन् ।

नेपाल क्यानोइङ एण्ड र्याफ्टिङ एसोसिएसनका का.वा अध्यक्ष राजीव श्रेष्ठले जिल्ला समन्वय समितिले संयोजन गरेको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा आफूहरू सहकार्य गर्न तयार रहेको बताए । त्यसै गरी नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारीले पनि जिल्ला समन्वय समिति काठमाडौँसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।

र्याफ्टिङ बिहान ८:४० मा सुन्दरीजलबाट शुरू गरिएको थियो भने कीर्तिपुर नगरपालिकाको चोभारमा बेलुकी ५:३० मा समापन गरिएको थियो । र्याफ्टिङ गर्दैगर्दा वागमती नदी किनारमा विभिन्न संस्कृति झल्कने पोसाक लगाएका कन्याहरूबाट स्वागत गरिएको थियो । त्यस्तै र्याफ्टिङको टिम उत्तरगयामा आइपुग्दा संस्कृत स्कुलका बटुकहरूले वैदिक मन्त्रले स्वागत गरेको दृश्य मनमोहक देखिन्थ्यो ।

”नदीलाई सफा र स्वच्छ राखौँ, ऐतिहासिक वागमती सभ्यताको संरक्षण गरौँ ।” भन्ने मूल मर्मलाई आत्मसात गरी वागमती नदीमा र्याफ्टिङ गरिएको थियो ।


Recommended For You