रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा. दासलाई सम्मान

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाले नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा. गौरीशङ्कर लाल दासलाई सम्मान गरेको छ । नेपाल रेडक्रस सोसाइटीको ६१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा एक सय वर्षीय डा. दासलाई सम्मान गरेको हो । उनलाई नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सभापति सुदर्शनप्रसाद नेपाल र काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरे । कार्यक्रममा सोसाइटीका केन्द्रीय अध्यक्ष नेपालले रेडक्रसले विभिन्न आरोह–अवरोह गर्दै अहिलेको अवस्थामा आएको भन्दै यसलाई अगाडि बढाउन आफू प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरे । रेडक्रसप्रतिको लगनशीलता र इमान्दारितालाई अगाडि बढाउने उनको भनाइ छ । “मानवताको सेवाका लागि हामी निरन्तर लाग्छौँ”, उनले भने ।

अध्यक्ष नेपालले आफू अध्यक्ष भएर आएपछि वार्षिक साधारणसभा सम्पन्न गरेकाले अब संस्थालाई नवीकरण गर्ने, विधान संशोधन गरेर अगाडि बढ्ने बताए । संस्थालाई सुमधुर वातावरणमा असल नियतले काम गरेर अगाडि बढाउने उनको भनाइ छ । “हामी सबैको एउटै मिसन र धारणा छ, हामी संस्थालाई पूर्णरूपमा मानव सेवामा लगाउँछौँ”, उनले भने । काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवं काठमाडौँ महानगरपालिका वडा नं १७ का वडाध्यक्ष मानन्धरले नेपालमा रेडक्रस स्थापनामा डा. दासको भूमिका महत्वपूर्ण रहेको बताए । “व्यक्तिको कारणले रेडक्रसमा दाग आउने काम गर्न दिन हुँदैन, मेरो कारणले रेडक्रसलाई बदनाम गर्न दिन्न भन्ने प्रतिबद्धता सबै रेडक्रसमा आबद्ध सदस्यले गर्नुपर्छ”, उनले भने । उनले रेडक्रसलाई हरेकको मन–मनमा ल्याउने काममा लाग्न सबै लाग्नुपर्ने बताए ।

०७२ को विनाशकारी भूकम्पको समयमा रेडक्रसले खेलेको भूमिका सराहनीय रहेको उनको भनाइ छ । डा. दासलाई काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने प्रवक्ता मानन्धरले बताए । सम्मानित व्यक्तित्व डा. दासले काठमाडौँ शाखाले आफ्नो योगदान सम्झेर सम्मान गरेकामा धन्यवाद व्यक्त गरे ।सोसाइटीका कार्यवाहक महामन्त्री मनोजकुमार थापा, सोसाइटीका केन्द्रीय कोषाध्यक्ष वीरबहादुर बस्नेत, सोसाइटी बागमती प्रदेशका उपमहासचिव राजेन्द्र बानियाँलगायतले देशभर नेपाल रेडक्रस सोसाइटीको अभियानलाई अगाडि बढाउन डा. दासको महत्वपूर्ण भूमिका रहेको बताए ।

कार्यक्रममा सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलले विश्वमा रेडक्रस स्थापना भएको एक सय वर्षपछि नेपालमा स्थापना भएको रेडक्रसले मानवतासँग जोडिएका हरेक क्षेत्रमा काम गर्दै आएको उल्लेख गरे । उनले काठमाडौँ रेडक्रसले डेङ्गु नियन्त्रण, रक्तदान, विपन्न तथा गरिबलाई आर्थिक तथा खाद्यान्न सहयोग, युवालाई तालिम प्रदानलगायत कार्यक्रम सञ्चालन गर्दै आएको स्पष्ट पारे । १९८१ मा सिरहाको इनरुवामा जन्मेका डा. दासले काठमाडौँ जिल्ला शाखामा बसेर नेपाल रेडक्रस सोसाइटीलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेले । ०२० भदौ १९ गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटीको केन्द्रसहित सात प्रदेश ७७ जिल्ला र एक हजार छ सय उपशाखा रहेको छ ।


Recommended For You