काठमाडौँ । समाजमा शिक्षित कहलिनु पनि कसैका लागि ठूलो सपना हुन्छ । विभिन्न कारणले पढ्न नपाउने र पढाइ पूरा गर्न नभ्याउनेका लागि यही सपना साकार बनाउन सहयोगी बनेको छ, ललितपुर सातदोबाटोस्थित ‘प्रेरणा महिला माध्यमिक विद्यालय’ । जहाँ शिक्षित हुने सपना पूरा गर्दै छन्, ७१ वर्षीया इन्द्रमाया आलेमगर । बुढेसकालमा झोला भरी पुस्तक, कापी र कलम बोकेर दिनहुँ विद्यालय पुग्नु उहाँको दैनिकी बनेको छ । कक्षा ११ मा पढ्दै गरेकी इन्द्रमाया यस विद्यालयमा कक्षा १ देखि नै अध्ययनरत छन्।
विद्यालय तेह्र वर्षभन्दा माथि उमेर समूहका महिलालाई लक्षित गरी स्थापना भएको हो । विद्यालयकी प्रधानाध्यापक प्रभा चालिसेका नजरमा इन्द्रमाया मेहनती र लगनशील छन् । “यो उमेरमा पनि पढाइप्रतिको उहाँको लगाव लोभलाग्दो छ । एकदमै मेहनती र लगनशील पनि हुनुहुन्छ, सबै विषयमा प्राय: विशिष्ट श्रेणी ल्याउनुहुन्छ । कति पटक त उहाँलाई कक्षा ‘जम्प’ गराएका छौँ”, चालिसेले भनिन् । इन्द्रमायालाई विद्यार्थी, शिक्षक र कर्मचारी सबैले आदरले आमा भनि सम्बोधन गर्छन् ।
इन्द्रमायाले पढ्ने र शिक्षित हुने धोको सानैदेखि कै भए पनि विभिन्न कारणले पढ्न नपाएको सुनाइन् । शिक्षित हुँदा समाजमा सम्मानित भएर बाँच्न पाइने लोभमा कक्षा १ मा विद्यालयमा भर्ना भएको उनको भनाइ थियो । विद्यालयमा रोल्पाकी कुमारी महराले पढ्ने रहर पूरा गरिरहेकी छन् । तत्कालीन द्वन्द्वको समयमा पढाइबीचमै छाडेकी उनले यतिबेला यस विद्यालयमार्फत पढाइ अगाडि बढाएकी छन् । “द्वन्द्व सकिँदासम्म पढ्ने उमेर घर्किसकेको थियो, आफूभन्दा सानासँग बसेर पढ्न मन लागेन”, उनले भनिन्, “त्यो बेला छाडेको पढाइले यो विद्यालयका कारण अहिले निरन्तरता पाएको छ ।”
विद्यालयकी प्रधानाध्यापक चालिसेका शब्दमा कुमारी पढ्नमा जेहेन्दार छन् । उनले एसइई प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि अहिले पद्मकन्या क्याम्पसबाट अङ्ग्रेजी विषयमा स्नातकोत्तरको पढाइ पूरा गरिसकेकी छन् । कुमारी अहिले मानवअधिकार आयोगमा अधिकृत पदमा जागिरे छन् । इन्द्रमाया र कुमारीले जस्तै शिक्षित बन्ने सपना पछ्याउँदै विद्यालयमा आउने महिलाको सङ्ख्या ठूलो रहेको प्रधानाध्यापक चालिसेको भनाइ छ ।
काठमाडौँ तीनकुनेस्थित उत्प्रेरणा महिला माध्यमिक विद्यालयकी प्रधानाध्यापक सुमित्रा मैनालीले विद्यालयमा आउने महिलामा पढाइप्रतिको लगाव निकै ठूलो देखिने गरेको बताइन् । “भर्ना हुन आउने धेरै महिलामा कुनै इखले काम गरेजस्तो लाग्छ । कसैलाई पढाइ छुटेको पीडा छ त कसैलाई छोराछोरीले लगाएको बचनले काम गरेजस्तो लाग्छ”, उनले भनिन्, “महिला साक्षर होइन कि शिक्षित बन्नुपर्छ भन्ने भावनाका साथ हामी अगाडि बढिरहेका छौँ ।” गठ्ठाघरस्थित आस्था महिला विद्यालयकी संस्थापक प्रधानाध्यापक पार्वती ज्ञवालीले ‘अधुरो शिक्षा पुरा गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ ओझेलमा परेका महिलालाई शिक्षाको मूलधारमा ल्याउने प्रयास जारी रहेको बताइन् ।
बैंकको काम र प्रविधि सिक्न विद्यालयसम्म
प्रेरणा विद्यालयकी प्रधानाध्यापक चालिसेका अनुसार परिवारका सबै सदस्यलाई कार्यालय र विद्यालय पठाएर दिउँसोको खाली समय सदुपयोग गर्दै छुटेको पढाइ निरन्तरता दिने महिलाको सङ्ख्या ठूलो छ । “उहाँहरुमध्ये कतिपयका छोराछोरी विदेशमा हुनुहुन्छ, विदेशमा बसेकासँग कुराकानी गर्न समस्या भयो, मोबाइलका एपहरु चलाउन र इन्टरनेटमा खोज्न पनि जान्नुपर्ने भयो”, उनले भनिन्, “यी सबै आवश्यकताले उहाँहरुलाई विद्यालयसम्म ल्याएको हो भन्ने लाग्छ ।”
