काठमाडौँ । विराटनगर जुटमिल आन्दोलनको जगमा स्थापित नेपालको सबैभन्दा पुरानो श्रमिक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले देशभर ७८औँ स्थापना दिवस मनाउँदैछ । नेपालमा प्रजातन्त्र स्थापना र पुन:स्थापनामा महत्वपूर्ण भूमिका खेलेको ट्रेड युनियन कांग्रेसले आम श्रमिकको हक, अधिकारका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
श्रमिकको योगदानले नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि सत्तामा पुगेपछि राजनीतिक दल श्रमिकको मुद्दामा गम्भीर हुन नसकेको ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए । “व्यवस्था परिवर्तन भए पनि श्रमजीविको अवस्थामा परिवर्तन भएको छैन । अझै धेरै ठाउँमा न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम ऐन प्रभावकारी लागू भएका छैनन्”, उनले भने, “राज्यले रोजगारी सिर्जना गर्न नसक्दा लाखौँ युवाहरु जोखिमयुक्त काम गर्न विदेशिनु परेको छ ।”
युद्ध, आर्थिक मन्दी, महामारी, जलवायु परिवर्तन, बौद्धिक कृत्रिमता, व्यवस्थित श्रम बजारको अभाव, गिग र डिजिटल अर्थतन्त्रलगायत कारणले श्रमिकमा थप चुनौती थपिएको नेपाल ट्रेड युनियनले जनाएको छ । ट्रेड युनियनको पहल र दबाबमा सरकारले श्रम तथा ट्रेड युनियन ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना प्रारम्भ गरेको भए पनि कार्यान्वयन फितलो भएको भन्दै कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई निरन्तर दबाब दिइने अध्यक्ष कुँवरले बताए ।
ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले श्रमजीवी र श्रम बजारका समस्या समाधान, चुनौतीको सामना गर्न र श्रमजीवी वर्गको जीवनस्तरमाथि उठाउन सङ्गठन विस्तार, सुदृढीकरण, प्रशिक्षण र नीतिगत हस्तक्षेपका लागि युनियनले काम गरिरहेको बताए ।
निरङ्कुश राणा शासन अन्त्य गर्न प्रमुख भूमिका खेलेका कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाल मजदुर सङ्घलाई ०४७ मा नेपाल ट्रेड युनियन कांग्रेसका नाममा पुन:गठन गरी नेपाली श्रमजीवीको हकअधिकार संरक्षण, सामाजिक सुरक्षा, मर्यादित रोजगारी, सुरक्षित कार्यस्थल, स्वस्थ औद्योगिक सम्बन्ध, सङ्गठन स्वतन्त्रताको क्षेत्रमा क्रियाशील रहँदै आएको महासचिव राईले जानकारी दिए ।
नेपाल ट्रेड युनियन कांग्रेसले ७८औँ स्थापना दिवसका अवसरमा एक विज्ञप्ति जारी गरी देशभरका सम्पूर्ण श्रमजीवी, सरोकारवाला एवं शुभचिन्तकमा हार्दिक शुभकामना व्यक्त गरेको छ । यस अवसरमा श्रमिक आन्दोलनका अग्रज नेतृत्वलाई सम्मानसहित स्मरण गर्दै श्रमिक आन्दोलनसँगै विभिन्न लोकतान्त्रिक आन्दोलनमा जीवन आहुति गर्ने ज्ञातअज्ञात सहिदप्रति श्रद्धासमेत व्यक्त गरेको छ ।
