बुढीगण्डकी आयोजना अब अगाडि बढ्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिन आफूले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा गोरखा र धादिङका जनप्रतिनिधिले आयोजनाका सम्बन्धमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले भने “आज बस्ने मन्त्रिपरिषद्को बैठकमा पनि यसबारे छलफल हुन्छ । आयोजना अघि बढाउनेमा म प्राथमिकता साथ लागेको छु ।”

प्रधानमन्त्रीले यो आयोजनालाई अगाडि बढाउन आफूले निरन्तर पहल गरिरहेको बताए । उनले स्थानीय तहबाट आयोजनालाई शीघ्र अगाडि बढाउन गरिएको पहल र प्रयासका लागि धन्यवाद दिँदै केही दिनभित्रै आवश्यक निर्णय हुने विश्वास दिलाए । कुल एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने टुङ्गो लागे पनि लगानी ढाँचा तयार हुन नसक्दा अगाडि बढ्न सकेको छैन ।

प्रधानमन्त्रीलाई गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सना, सहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर, भीमसेन गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जरा, आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैलगायतले ज्ञापनपत्र बुझाएका थिए ।

राष्ट्रिय गौरवको योजना निर्माण प्रक्रियाका लागि आर्थिक स्रोत सुनिश्चिता र निर्माण प्रक्रिया अगाडि बढाउन यथाशीघ्र पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको गण्डकी गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । आयोजना निर्माण अघि नबढ्दा प्रभावित क्षेत्रका जनतामा थप समस्या पैदा भएको र उनीहरुले पाउनुपर्ने सामान्य सुविधा समेत नपाएको ज्ञापनपत्रमा उल्लेख छ ।

 


Recommended For You