कांग्रेसद्वारा सहकारीको रकम ठगीबारे छानबिन गर्न माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीबारे छानबिन गर्नका लागि संसदीय समिति गठन गर्न पुनः माग गरेको छ । कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलमा स्वयं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने नै संलग्न देखिएको आरोप लगाउँदै संसदीय छानबिन गठनको माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सहकारीको रकम अपचनमा गृहमन्त्री नै संलग्न भएकाले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिनका लागि संसदीय समिति गठनको माग गरेको हो । यसअघि पार्टी उक्त माग गर्दै आएको र आज संसदीय दलको बैठकले माग उचित छ भन्ने ठहर गर्दै तत्काल मागबमोजिम समिति गठन गर्न माग गर्ने निर्णय गरेको हो ।

आफ्नो मागप्रति सरकार गैरजिम्मेवार हुन्छ र समिति नबनेसम्म संसद्मा हुने अवरोधको जिम्मा स्वयं सरकारले नै लिनुपर्ने कांग्रेसको भनाइ छ । प्रमुख प्रतिपक्षी दलका हैसियतले रचनात्मक रुपमा तर सरकारका कमिकजोरीलाई सशक्त रुपमा उठाउने विषयमा बैठक एकमत रहेको प्रमुख सचेतक लेखकले बताए ।


Recommended For You