ताप्लेजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सङ्गठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिएका छन् । आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनाबद्ध रुपमा अघि बढ्न आफ्ना कार्यकर्तालाई उनले सुझाव दिए ।
ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको उद्घाटन गर्दै उनले स्पष्ट विचारका साथ अनुशासित र सक्रियतापूर्वक रुपमा पार्टी सङ्गठनमा लाग्नुपर्ने बताए । आफू र आफ्नो पार्टीलाई गन्तव्यमा पु¥याउनका लागि हरेक कार्यकर्तामा स्पष्ट विचार, अनुशासन र सक्रियता आवश्यक पर्ने उल्लेख गर्दै सोहीअनुसार अघि बढेर मिसन ८४ लाई पूरा गर्नुपर्ने उनले बताए । करिब तीन करोड २५ लाख बढीको लागतमा निर्माण भएको भवनको उद्घाटन अघि अध्यक्ष ओली चीनसँगको सीमावर्ती क्षेत्र ओलाङचुङ्गोला पुगेका थिए । हेलिकोप्टरमार्फत त्यहाँ पुगेका ओलीले सीमावर्ती क्षेत्रको हवाई अवलोकनसमेत गरे ।
यस्तै, उनले विराटनगरको रानी भन्सारबाट धनकुटा मूलघाट हुँदै ओलाङचुङ्गोला–टिपताला जोड्ने सडकको ट्र्याक खुलेसँगै बुधबार साँझ ओलाङचुङगोलामा पहिलोपटक सदरमुकाम तर्फबाट पुगेका सवारी साधनका चालकलाई सम्मान पनि गरे । कार्यक्रममा अध्यक्ष ओलीसँगै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती र पार्टी सचिव योगेशकुमार भट्टराई समेत ताप्लेजुङमा आएका थिए ।
