काठमाडौँ । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । अधिवेशन २ वैशाख राति १२ बजेदेखि स्वतः अन्त्य हुने सभामुखले जानकारी गराए ।
बैठकमा उनले प्रतिनिधिसभाको चालु अधिवेशनमा भएका कामबारेमा जानकारी गराए । चालु अधिवेशन २ माघदेखि प्रारम्भ भएको थियो । यस अवधिमा २३ दिनमा २३ पटक गरी ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम कारबाही व्यतीत भएको जनाइएको छ । यस अधिवेशनमा अनुगमन तथा मूल्याङ्कन विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गरी तीन विधेयक पारित भएका छन् ।
बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसदहरू आसनबाट उठेपछि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकका निर्णय र समझदारीअनुसार नै बैठक अघि बढाउने बताए । साथै उनले आजको लागि तय गरिएको कार्यसूचीका १ देखि ७ नम्बरसम्मका विषय कार्यसूचीबाट हटाइएको जानकारी गराएपछि बैठक सञ्चालन भएको थियो ।
बैठकमा सभामुखले प्रतिनिधिसभाको नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गरे । उक्त प्रस्ताव बैठकले स्वीकृत गरेको थियो ।
